प्रदेशसभामा हंगामा : कांग्रेस सांसदले गरे तोडफोड

काठमाडौँ। प्रदेश नं ५ को प्रदेशसभामा स्थायी राजधानी र नामकरणका विषयलाई लिएर विपक्षी दल नेपाली कांग्रेसले कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ । होहल्ला र विरोधका बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएपछि आक्रोशित कांग्रेसका प्रदेशसभा सदस्य तोडफोडमा उत्रिएका थिए ।

प्रदेशसभामा सदस्य बसी उद्दिन खाँले कुर्सी तोडफोड गर्न शुरु गरेपछि सदस्य रमा अर्याललगायतले प्रदेशसभाका विभिन्न भौतिक संरचना तोडफोड गरेका थिए । उनीहरु सभामुखलाई घेरा गर्न रोष्ट्रममा आउन लाग्दा मर्यादापालकसँग घम्साघम्सी परेको थियो । सभामा तोडफोड जारी रहँदा मुख्यमन्त्री शङ्कर पोखरेल भने बैठकबाट बहिरिएका थिए ।

तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।

मुख्यमन्त्री पोखरेललाई आइतबार प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए । अपराह्न १ बजे शुरु भएको बैठक २ बजे सरे पनि सहमति नभएपछि ३ बजे शुरु भएको थियो । सभामुख घर्तीले विरोधको अधिकारलाई सम्मान गर्दै प्रदेशसभालाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बैठक शुरु गरेका थिए ।

त्यसअघि सार्वजनिक महत्वका विषयमा प्रदेशसभा सदस्यद्वय अर्याल र सन्तोष पाण्डेलाई समय दिइए पनि उनीहरुले बैठकमाबोलेनन्  । बैठक मङ्गलबार बस्ने गरी स्थगन भएको छ । राजधानी सार्ने विषयलाई लिएर केही दिनदेखि तनाव उत्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *