नेकपा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना छिरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मन्त्रिपरिषद पुनर्गठन, राजनीतिक नियुक्तिलगायतका विषयमा छलफल गर्नका लागि आइतबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका सल्लाहकार, सचिवालयका कर्मचारीका साथै सुरक्षामा खटिएका सुरक्षाकर्मीसहित ७० भन्दा बढीमा कोरोना भाइरसको संक्रण पुष्टि भएपछि बैठक स्थगित भएको हो । सल्लाहकार, सचिवालय तथा सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीले सबै भेटघाट बन्द गरेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाह नै नगरी गत बिहीबार राजदूत नियुक्त गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको थियो। त्यसबारे छलफल गर्न अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड शनिबार सचिवालय बैठक बोलाउन सहमत भएका थिए ।

शनिबारको सचिवालय बैठक स्थगित भएपछि आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको हो।

राजदूत नियुक्तिलाई लिएर अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरू असन्तुष्ट छन् । उनीहरुले सार्वजनिक रुपमै असन्तुस्टी जनाइसकेका छन्।

प्रधानमन्त्री ओलीले बिहीबार आफ्ना आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको लागि राजदूत सिफारिस गरेका थिए । त्यस्तै, बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवबाट लोकदर्शन रेग्मीको राजीनामा स्वीकार गर्दै उनलाई बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय लिएको थियो । दक्षिण अफ्रिकाको राजदूतमा निर्मल विश्वकर्मालाई सिफारिस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *