कविता: विवश मान्छे

Last Updated Date:

चन्द्रमणि पन्थ

कुटिएको छ मान्छे,
लुटिएको छ मान्छे
स्पन्दनलाई टुक्राएर,
आशाहरु भत्काएर
खुला आकाश मुनि,
बाच्न विवश छ मान्छे !!

धर्तिको एक टुक्रा भूगोल,
प्रकृतिको अनुपम उपहार
सगरमाथाको शिर पाएर पनि,
निहुरिन विवाश छ मान्छे !!

धर्ति माताको छाती चुस्दै,
ब्वासाहरुले मुखमा रगत लतपताएर
फोस्रो भाषणमा चिच्याउँदा पनि,
कान छोपी सुन्न विवश छ मान्छे !!

मृत छ कानुन, मृत छ सरकार,
मृत छ राज्यसत्ता यहाँ
अग्रगमनको नाममा,
संस्कृति, कला र इतिहास मेट्दै
आफूले आफैलाई बिर्सदै बिर्सदै,
बस्न विवश छ मान्छे !!

इतिहासकै असभ्य राजनैतिक दाउपेचभित्र,
बर्षभरी गाइजात्रा आए जस्तो गरि
सरकारको रमिते कार्यकौशलता देखेर,
ताली ठोकी ठोकी हास्न विवश छ मान्छे !!

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top