सार्क राष्ट्रमा कोरोना प्रकोप : भारतमा मात्रै झण्डै ९० प्रतिशत संक्रमित, भूटान र श्रीलंकामा संक्रमण न्यून

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीको प्रभाव दक्षिण एसियाली (सार्क) मुलुकहरुमा दिनानुदिन बढिरहेको छ । सार्क राष्ट्र श्रीलंका र भूटानबाहेक अन्य सबै मुलुकहरुमा संक्रमणको दर बढिरहेको छ ।

दक्षिण एसियाका आठवटै देशमा गरि मंगलबार दिउँसोसम्म ६८ लाख ४४ हजार १४० जना कोरोना संक्रमणको शिकार भएका छन् । संक्रमितमध्ये एक लाख १० हजारभन्दा बढीको मृत्यु भएको छ । ५७ लाख ६९ हजार ४६२ जना सफल उपचापछि घर फर्केका छन् ।

संक्रमितमध्ये ६१ लाखभन्दा बढी भारतका छन् । यो संख्या सार्क राष्ट्रका कूल संक्रमितको ८९.७८ प्रतिशत हो। भारत विश्वमा नै धेरै कोरोना संक्रमित मुलुकको दोस्रो स्थानमा रहेको छ । त्यहाँ हालसम्म ६१ लाख ४५ हजार २९१ जना संक्रमित छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि सार्कका अन्य राष्ट्रहरुको तुलनामा भारतमा धेरै छ । भारतमा मात्रै हालसम्म मृत्यु हुनेको संख्या ९६ हजार ३५१ पुगिसकेको छ । पछिल्लो केही दिनयता भारतमा मृत्यु हुनेको संख्या ह्वातै वढेको हो ।

संक्रमित संख्याका आधारमा भारतपछि सार्क राष्ट्रमा सबैभन्दा बढी प्रभावित मुलुक बंगलादेश हो । बंगलादेशमा हालसम्म तीन लाख ६० हजार ५५५ जना संक्रमित छन् भने पाँच हजार १९३ जनाको मृत्यु भैसकेको छ ।

कूल संक्रमितका हिसाबले पाकिस्तान तेस्रो नम्बरमा छ । पाकिस्तानमा हालसम्म तीन लाख ११ हजार ५१६ जनामा  संक्रमण देखिएको छ भने छ हजार ४७४ जनाको मृत्यु भैसकेको छ ।

कोरोना संक्रमणको अहिलेसम्मको अवस्था हेर्दा श्रीलंका र भूटानमा संक्रमितको संख्या न्यून छ । भूटानमा अहिलेसम्म एक जनाको पनि मृत्यु भएको छैन भने श्रीलंकामा १३ जनाको मृत्यु भएको छ।

पछिल्लो समय नेपालमा पनि संक्रमणको दर दैनिक रुपमा बढिरहेको छ । नेपालमा हालसम्म ७४ हजार ७४५ जनामा संक्रमण देखिएको छ भने ४८१ जनाको मृत्यु भएको छ ।  संक्रमितमध्ये ५४ हजार ६४० जना निको भएका छन् ।

हेर्नुस् सार्क मुलुकमा कोरोना महामारीको पछिल्लो अवस्था

देश संक्रमित मृत्यु निको हुने
गम्भीर विरामी
भारत ६१,४५,२९१ ९६,३५१ ५१,०१,३९७ ८,९४४
बंगलादेश ३,६०,५५५ ५,१९३ २,७२,०७३
पाकिस्तान ३,११,५१६ ६,४७४ २,९६,३४० ४१९
नेपाल ७४,७४५ ४८१ ५४,६४०
अफगानिस्तान ३९,२३३ १,४५५ ३२,६४२ ९३
माल्दिभ्स १०,१५७ ३४ ८,९५० १२
श्रीलंका ३,३६३ १३ ३,२१०
भूटान २८० २१०

प्रस्तुत तथ्यांक वर्डोमिटर्स डट इन्फोबाट लिइएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *