यातायात व्यवसायीको गुनासो :बस त चले, यात्रु चढेनन्

काठमाडौँ। सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि व्यवसायी निराश देखिएका छन्। सार्वजनिक यातायात सञ्चालन भए पनि यात्रु नहुँदा व्यवसायी निराश बनेका हुन्।

यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गरे ।“बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्दछन् । निर्वाध रुपमा यात्रा गर्ने वातावरण मिलेको छैन् ।” उनले भने, “सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु हालेर सेवा दिँदा गाडीको किस्ता तिर्न नसक्ने अवस्था छ ।”

भाडामा डेढ गुणा वृृद्धि गरेर यातायात सञ्चालन गर्न भने पनि व्यवसायी मारमै रहेका र बैंकको किस्ता तिर्न समस्या परेको व्यवसायीको गुनासो छ । उनले भने,“यस्तै अवस्था रहे व्यवयासीले पलायन हुनुपर्ने अवस्था छ । कोरोना कहरमा यातायात व्यवसायी नराम्ररी प्रभावित भएका छन् ।” यहाँबाट चल्ने लामो मात्रै नभई छोटो दूरीका सवारीधनी पनि यात्रु नआउँदा मारमा परेका छन् । “छ महिना लामो लकडाउन खुलेपनि सवारी साधनमा चढ्ने मानिसको चहलपहल नहुँदा लगानी डुब्ने चिन्ता छ ।” व्यवसायी करनसिंह साउदले भने,“यात्रु नै नपाएपछि चलाएर पनि केही सहजल होला जस्तो छैन ।”

यातायात क्षेत्र सञ्चालनमा आएपछि खुशी भएका बसका चालक र सहचालक पनि यात्रु नपाउँदा भने निराश छन् । यस्तै लामो समय बन्द रहेको यातायात क्षेत्र सञ्चालनमा आएपछि अन्य क्षेत्र पनि सञ्चालनमा ल्याउनुपर्ने यातायात व्यवसायीको माग छ । “सबै क्षेत्र सञ्चालनमा आएपछि मात्रै यातायात सञ्चालन गरेको औचित्य पूरा हुने देखिन्छ ।” उनले भने, “ अहिले त सडकमा घाटामा गाडी गुडाउनुपरेको छ ।”

यातायात व्यवसायीलाई बैंकको ब्याज मिनाह गरेर सहयोग गर्न व्यवसायीहरुले सरकारसंग आग्रह गरेका छन् । त्यसैगरी अर्का यातायात व्यवसायी जनकराज भट्टले सञ्चालन भएको यातायातलाई पनि थप व्यवस्थित गर्नुपर्ने बताए । “यातायात नचल्दा यसक्षेत्रका मजदुरहरु पनि मारमा परे ।”उनले भने, “विपन्न र गरिबलाई स्थानीय सरकारले राहत दिएपनि यातायात मजदूर कसैको नजरमा परेनन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *