कोरोनाबाट १७ देशमा २६५ नेपालीको मृत्यु

Last Updated Date:

काठमाडौँ। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ प्रवासी नेपालीको ज्यान गएको छ ।

यसै साता कुवेतमा पाँच, साउदी अरबमा १४, युएई र युगान्डामा एक-एक  जनाको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जानकारी दिएको छ। सङ्घका अनुसार शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीले  कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८४८ नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ३५ हजार ७८ जना सङ्क्रमणमुक्त भैसकेका छन् । यो कूल सङ्क्रमितमध्ये ९२ प्रतिशत हो ।

समितिका संयोजक डा सञ्जीव सापकोटाकाले यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, युएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको जानकारी दिए ।

यस्तै नेपालमा मात्र ७१ हजार ८२१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये ५३ हजार १३ कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ७१ प्रतिशत हो । हालसम्म नेपालमा ४६७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये ७३२ को निधन भएको छ । यस्तै विश्वभर एक लाख १० हजार ६० नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top