काठमाडौँ । स्याङ्जाको कालीगण्डकीमा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ । तीन दिनदेखिको लगातार वर्षाका कारण बुधबार राति घरमाथिबाट खसेको पहिरोमा परी कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको हो ।
बुधबार राति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिए ।
स्थानीयवासी र विर्घा प्रहरी चौकीका प्रहरीको पहलमा पहिरोमा पुरिएका नेपालीको शव निकालिएको वडा अध्यक्ष पाण्डेले बताए । पहिरोमा पुरिएर एकको मृत्यु भए पनि अन्य भने सकुसल रहेका बताईएको छ ।