‘महामारीविरुद्धको साझा चुनौतीको सामनाका लागि विज्ञान कूटनीति’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीले अर्थ सामाजिक क्षेत्रका बहुआयामिक क्षेत्रमा नकारात्मक असर पारेकाले विज्ञान र प्रविधिको सहायताले यसको सामना गर्नुपर्ने बताएका छन् छ ।

राष्ट्रिय विज्ञान दिवसका पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक संगठन (युनेस्को) नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको विज्ञान, हाइड्रोलोजिकल प्रोग्राम (आइएसपी) र म्यान एण्ड बायोस्फेर (एमएपी) समितिले नेपाल जर्मन एकेडेमिक एशोसिएशनको सहकार्यमा मंगलबार आयोजना गरेको ‘एक्काइसौँ शताब्दीको विज्ञान कूटनीति : नेपाली सन्दर्भमा सहकार्यको माध्यमबाट विकासको अवसर’ विषय भर्चुअल प्रवचन कार्यक्रममा उनले साझा चुनौतीको सामना गर्न विश्व एक हुनुपर्नेमा पनि जोड दिए ।

उनले भने, “विश्वको साझा चुनौतीको सामना गर्ने महान कार्यको सामना विज्ञान र प्रविधिले मात्रै सक्दछ । कोरोना महामारी वा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विकास निर्माणमा विज्ञान र प्रविधिको सदुपयोगका लागि हामी तत्पर हुनुपर्छ ।”

सो अवसरमा मन्त्री पोखरेलले गत वर्ष राष्ट्रिय विज्ञान तथा नवप्रवर्तन नीति जारी गरी विज्ञान र शिक्षा क्षेत्रलाई नीतिगत तहमा उच्च महत्व दिइएको जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज १ गते ‘स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने नाराका साथ साताव्यापीरुपमा आठौँ राष्ट्रिय विज्ञान दिवस मनाउँदैछ ।

पूर्वविज्ञानमन्त्री गणेश साहले युवा वैज्ञानिकको प्रतिभालाई हरेक राष्ट्रले उच्च महत्व दिई विकास र निर्माण तथा महामारीविरुद्ध परिचालन गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव डा सञ्जय शर्माले विज्ञान भूगोल औपचारिक कूटनीतिभन्दा पर र माथि हुने भएकाले यसले जलवायु परिवर्तनका असर न्यूनीकरणजस्ता विषयमा विश्वलाई एकताबद्ध भई लड्न प्रेरित गर्ने बताए । उनले विद्यमान कोरोना भाइरसको महामारीको स्थितिमा विज्ञान कूटनीतिको झन् बढी महत्व रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *