बाबुको मृत्यु, छोरा आइसोलेसनमा, काजक्रिया गर्न आफन्तको खोजी

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणले मानव जातिमाथि नै आक्रमण गरिरहेको छ । विश्वका करोडौं मानिस कोरोना संक्रमणको शिकार भएका छन् भने लाखौँले ज्यान गुमाएका छन् । नेपालमासमेत कोरोना संक्रमण व्यापक रुपमा फैलिरहेको छ । कोरोनाको संक्रमण फैलिँदै जाँदा यसले समाजमा बहुपक्षीय प्रभाव पारेको छ ।

कोरोना संक्रमण र त्यसपछि लगाइएका लकडाउन र निषेधाज्ञाका कारण मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा ठूलो असर परेका बेला कोरोना सङ्क्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले काजक्रिया समेत गर्न पाएनन् । स्याङजाको पुतलीबजार नगपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृत्कका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट वञ्चित भए ।

लामो समयदेखि दमको बिरामी रहेका बाबुलाई उपचारका लागि भदौ २१ गते पोखरा लिएर गएका छोराले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बाबुको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर बाबुको रेखदेखमा खटिएका थिए । बाबुको उपचार चलिरहेकै समयमा २२ गते आफ्नो कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि बुबाको रेखदेखको जिम्मा आफन्तलाई लगाएर उनी आइसोलेसनमा बस्न थाले ।

चिकित्सकको सल्लाहमा जिल्ला फर्किएर स्थानीय कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा रहेका उनी बाबुको मृत्यु भएपछि थप पीडामा परेका छन् । एकातिर बाबुको मृत्युको पीडा अर्कोतिर काजक्रिया गर्नबाट समेत वञ्चित हुनुपर्दा उनलाई पीडामाथि पीडा थपिएको छ ।

मृतकका दुई छोरामध्ये एक जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकाले आइसोेलेसनमा रहेको र अर्का छोरा रोजगारीका लागि भारत गएको र उहीँ क्वारेन्टिनमा रहेकाले आफन्तले बाबुको क्रिया गर्नुपर्ने अवस्था रहेको नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *