काठमाडौँ महानगरभित्र कोरोना सङ्क्रमितको संख्या झण्डै पाँच हजार

काठमाडौँ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको काठमाडौँ महानगरपालिकाभित्र सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ पुगेको छ । महानगरपालिकाका अनुसार सङ्क्रमितमध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत रहेका छन् ।

महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख हरि कुँवरका अनुसार ४७१ जना अस्पतालमा उपचार गराइराखेका छन् भने एक हजार ५२४ होम आइसोलेसनमा र एक हजार २२७ जना संस्थागत आइसोलेसनमा छन् । ३१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

हालसम्म महानगरका ३२ वटै वडामा गरी १० हजार ५२९ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको कुँवरले जानकारी दिए । हालसम्म परीक्षणमा सबैभन्दा बढी वडा नं १५ मा ४६९ जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी वडा १६ मा ३६६, वडा ३ मा ३१५ जनामा सङ्क्रमण देखिएको छ । यसैगरी वडा ४, ७, ८, ९, १०, ११, १३, १४, २६, २७, २८, २९, ३१ र ३२ वडामा एक सयभन्दा बढी सङ्क्रमित रहेका छन् ।

सबैभन्दा बढी वडा २७ मा चार जनाको मृत्यु भएको छ । कामपाले परीक्षणको दायरा बढाउनका लागि अहिले हरेक वडामा स्वास्थ्यकर्मीसहित स्वयम्सेवक परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *