नुवाकोटमा भिषण पहिरो, ज्यान जोगाउन स्थानीयको भागाभाग


उद्धार र राहतका लागि सरकार साथमा रहेको भन्दै संयम रहन स्थानीयवासीलाई सांसद तामाङको आग्रह

  • रामहरि गजुरेल

नुवाकोट । अघिल्लो वर्ष पहिरोको चपेटामा परेर ठूलो जनधनको क्षति व्यहोरेको नुवाकोटको दुर्गम गाउँ घ्याङफेदीमा फेरी पनि भिषण पहिरो गएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको सिसिपु बस्ती माथिबाट मंगलबार विहान खसेको पहिरोले स्थानीयवासी आतंकित बन्न पुगेका छन् भने पहिरोमा पुरिएर ज्यान जाने त्रासले यहाँका सयभन्दा बढी घरपरिवार थातथलो छोडेर विस्थापित भएका छन् ।

पहिरोपछि गाउँमा ज्यान बचाउन बालबच्चा च्यापेर भागदौडको अवस्था आएको स्थानीय विष्णु तामाङले जानकारी दिए । गाउँबाट भागेकाहरुको बिचल्ली भएपछि घ्याङडाँडा र गोर्ख्र्याङको खाली जमिनमा बस्न पुगेका छन् । ‘गाउँ पुरिने उच्च जोखिममा छ । हामी सयौँ स्थानिय घर छोडेर भाग्न बाध्य छौँ’, उनले घटना विवरण सुनाउँदै भने, ‘पहिरोले गाउँमुनिको तादी खोला थुनिन सक्ने खतरा बढेको छ ।’ जसका कारण घ्याङफेदीभन्दा तलतिरका वस्ती र खेतियोग्य फाँटहरु बगाउने खतरा बढेको स्थानियहरु बताउँछन् । वस्तीमा बाक्लो हुस्सु लागेकोले उद्धारका लागि कोही पनि जान सक्ने अवस्था नरहेको बुझिएको छ भने सिसिपु गाउँमा रहेको पुलसमेत पहिरोसँगै आएको बाढीले बगेको अनुमान गरिएको छ । पहिरोका कारण तादी खोलामा समेत ठूलो बाढी आएको छ ।

उद्दारका लागि गाउँपालिका र प्रहरीको टोली त्यसतर्फ गएपनि उनीहरुलाई स्थानीयहरुले नै घ्याङफेदीबाट माथि नआउन भनिएको छ । तर, गाउँपालिकाले भने घटनापछि पनि कुनै चासो नराखेको स्थानीय विष्णु तामाङले गुनासो गरे ।

त्यहाँ के–कति मात्रामा क्षति भयो भन्ने अहिलेसम्म बिवरण आईसकेको छैन । विहान करीब ८ बजे गएको पहिरोमा ५ वटा भैँसी पुरिएको जानकारी आएपनि मानवीय क्षतिको विषयमा भने अहिलेसम्म कुनै जानकारी नआएको गाउँपालिकाको कार्यालय समुन्द्रटारले जनाएको छ ।

२०७२ सालको भुकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भूगर्भविद्ले गरेको सर्वेक्षणमा यो वस्ती पहिरोको उच्च जोखिममा रहेको र तत्काल वस्ती स्थानान्तरण गर्नुपर्ने भनिएको थियो । तर, गाउँपालिका र वडा कार्यालयले यहाँका ५० घरधुरीलाई मात्रै समुन्द्रटारको रामतीमा सारिएकोमा अन्य एकसय ५ घरघुरीलाई त्यही राखेर स्थानान्तरणमा वेवास्ता गरिएको स्थानियहरुले आरोप लगाएका छन् ।

संयमता अपनाउन सांसद तामाङ्गको आग्रह  

पहिरोले गाउँबाट स्थानीयवासी विस्थापित भई भागाभाग भएको घटनापछि पूर्वमन्त्री एवं यसै क्षेत्रबाट निर्वाचित सांसद हितबहादुर तामाङले आफू र आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकार पीडितहरुको साथमा रहेकोले विचलित नहुन आग्रह गरेका छन् ।

पीडितहरुलाई सान्त्वना दिदैँ उनले पहिरोको विपदीबाट नआत्तिन बरु संयमता अपनाउन आग्रह गरेका छन् । त्यसका निम्ति जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायलाई जानकारी गराएको उनले बताए ।

सांसद तामाङ

‘सरकार र सरकारका संयन्त्रहरु उद्धार तथा राहतसहित सुरक्षित वासस्थानको व्यवस्थापनमा छिटोचाँडो जुट्नेछ’, सांसद तामाङले भने, ‘दुर्गम वस्ती भएकोले घटनालगत्तै आइपुग्न धेरै जटिल छ । त्यसैले जोखिम नउठाई सुरक्षित स्थानमा रहन र सम्भावित जनधनको क्षतिबाट बच्नुहुन अनुरोध छ ।’

पहिरो गएको गाउँ नजिकैको अर्को एक वस्तीको दुवैतर्फबाट आएको पहिरोकै कारण गतवर्ष दर्जनौँ घर र स्थानीयवासी बिचल्लीमा परेका थिए । त्यसबेला सांसद तामाङकै पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत् गाउँमा अस्थायी वसोवास, खाद्यान्न र राहत सामग्री उपलब्ध गराउनुका साथै सेनाको हेलिकप्टरमार्फत् नै पहिरोको चपेटामा थुनिएकाहरुको उद्धार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *