विद्यालयलाई कोरोनाको केन्द्र बन्नबाट बचाउन आधुनिक शिक्षण पद्धति : मन्त्री पोखरेल

  • रामहरि गजुरेल

नुवाकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिन सरकारले प्रवधिको उपयोग गर्दै आधुनिक र वैकल्पिक शिक्षण पद्दतिको विकास गर्ने बताएका छन् । मंगलबार नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय भर्चुअल वक्तृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयका कक्षा सञ्चालन गराउन अहिले पनि कठिन रहेको बताए ।

सङ्क्रमणको जोखिम कम भएका जिल्लामा कक्षा सञ्चालन सम्भव भएपनि संक्रमण विद्यालयस्तरमा फैलियो भने त्यसलाई नियन्त्रण गर्न नसकिने भएकाले यो भयावह भएर फैलिनेतर्फ खतरा औंल्याए ।

कोरोनाले परम्परागत रुपमा शिक्षा प्रदान गर्न सम्भव नभएको पाठ सिकाएको उल्लेख गर्दै उनले विश्वस्वास्थ्य सङ्गठनले यो महामारी साम्य हुन कम्तीमा दुई वर्ष लाग्ने बताइरहेकाले शिक्षा क्षेत्रलाई यही अन्यौलको अवस्थामा छोड्न नहुने बताए ।

‘स्कूल, कलेज बन्द भए पनि शिक्षण बन्द भएको छैन, शिक्षा बन्द गरिनुहुन्न । शैक्षिक क्षतिलाई कम गर्दै शैक्षिक सत्र सुनिश्चित गर्नु पर्छ’, उनले भने । रेडियो, टेलिभिजन, अनलाइन र अस्थायी सिकाइ केन्द्रमा विभाजन गरी सीमित विद्यार्थी राखेर भएपनि शिक्षण कार्यलाई प्रभावकारी रुपमा अघि बढाइने सरकारको योजना रहेको उनले सुनाए ।

‘यसअघि भूकम्पको समयमा वैकल्पिक विधिबाट पठनपाठनको क्रियाकलापलाई विकास गर्न सकिएको भए अहिले सहज हुने रहेछ । अब वैकल्पिक प्रणालीको विकास गर्दै विद्यार्थीको सिकाइलाई मुख्य प्राथमिकता दिइनेछ’, मन्त्री पोखरेलले योजना सुनाउँदै भने, ‘सङ्कटको समयमा शिक्षाको अधिकार प्रत्याभूत गराउन सरकारले कदम चालिरहेको छ । पहिले रोगविरुद्ध आधारित भएको सरकार पछि भोकलाई आधार मानेर अघि बढेको र अहिले शिक्षामा केन्द्रित भएको छ ।’

मन्त्री पोखरेलले वैकल्पिक र दूर शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन तहको सरकारको भूमिका महत्वपूर्ण रहेकाले स्थानीय तहलाई कार्य योजना बनाएर अघि बढ्न आग्रह गरे । त्यसका लागि वैकल्पिक बाटोबाट शिक्षण प्रदान गर्दा कोहीपनि विद्यार्थीलाई नछुटाई हरेक विद्यार्थीलाई समेट्ने गरी योजना बनाउनुपर्नेमा जोड दिए ।

‘हाम्रा स्वास्थ्य स्रोत साधन कम छन् । त्यसैले वैकल्पिक रुपमा दूर शिक्षाको माध्यमबाट न्यूनतम सिकाइलाई अघि बढाउन खाँचो भइसकेको छ’, मन्त्री पोखरेलले आवश्यकतावोध गर्दै भने, ‘विद्यालयमा नै विद्यार्थीलाई सहभागी गराएर पठनपाठन गराउन सक्ने अवस्था छैन । यस्तो संकटकालीन अवस्थामा आधुनिक प्रविधि र पद्धतिबाट शैक्षिक क्रियाकलाप अघि बढाउनुको विकल्प छैन ।’

नुवाकोटमा सरकारले यसै वर्षदेखि पोष्टबहादुर बोगटी प्राविधिक शिक्षालय सञ्चालन गर्न लागिएको जानकारी दिँदै मन्त्री पोखरेलले नुवाकोटलाई सचेत अनि जागरुक जिल्ला बनाउनको लागि आफू क्रियाशील रहेको समेत जानकारी दिए ।

कार्यक्रममा पुर्वमन्त्री एवं सांसद हितबहादुर तामाङ, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, जिल्ला समन्वय समितका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल लगायतले अहिले जिल्लामा जोखिम कम भएकोले थोरै विद्यार्थी भएका विद्यालयमा सुरक्षाको मापदण्ड पूरा गरेर भौतिकरुपमा उपस्थित गराएर पनि अन्य विद्यालयमा वैकल्पिक विधीबाट शिक्षण क्रियाकलाप अघि बढाउनुपर्नेमा जोड दिए ।

नेपालमा शिक्षा क्षेत्रमा क्रियाशील संस्था रुम टु रिड र रुडेक नेपालको आयोजनामा भएको ‘वैकल्पिक शिक्षा सिकाइमा स्थानीय सरकारको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा १२ वटा स्थानीय तहका १२ जना छात्रछात्राको सहभागिता थियो भने प्रतियोगिता नेपालय कलेजको आर्थिक सहयोगमा सञ्चालन भएको हो । स्थानीय तहस्तरमा सञ्चालन भएको प्रतियोगितामा छनौट भएका १२ जनालाई यस प्रतियोगितामा सहभागि गराइएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *