गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको मंगलबार साँझ ५ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

मृतकको मिर्गौलाले काम नगरेका कारण केही समयदेखि डाइलासिस भइरहेको थियो । चितवनको कोभिड अस्पतालमा उपचार गराइरहेका उनमा भदौ १९ गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्या भई अवस्था जटिल बन्दै गएपछि सघन उपचार कक्षमा सारिएको थियो ।

योसंगै हालसम्म गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।

त्यस्तै बुधबार बिहान कास्कीको पोखरामा नौ, बाग्लुङ र नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) एक/एक जना गरी प्रदेशमा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गण्डकीमा हालसम्म सङ्क्रमितको सङ्ख्या दुई हजार ६७२ पुगेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा ५३ हजार ३२९ जनाको पिसीआर नमूना परीक्षण गरिएकोमा ५० हजार ६५७ मा कोरोना सङ्क्रमण देखिएको छैन । सङ्क्रमित मध्ये एक हजार ८०४ जना निको भएका छन् भने सक्रिय सङ्क्रमित ८४६ रहेको निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *