विवादित रेलमार्गको ठेक्का रद्ध

काठमाडौं । विवादित रेलमार्गको ठेक्का प्रक्रिया रद्ध भएको छ । पूर्व पश्चिम विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डका सबै ५४ वटा ठेक्का रद्द गरिएको रेल विभागले जनाएको छ ।

निश्चित ठेकेदारलाई मात्र मिल्ने गरि स्पेसिफिकेसन बनाएर ठेक्काको सूचना निकालिएको र रेलमार्गमा पर्ने जग्गाको मुआब्जा विवादसमेत नसुल्झिएको भन्दै उक्त ठेक्का विवादित बनेको थियो । ठेक्का विवादमा आएपछि बिभागले मंगलबार एक सूचना जारी गर्दै ठेक्का रद्ध भएको जनाकारी दिएको हो ।

ठेक्का गत असार १४ र १७ गते अह्वान गरिएको थियो । प्रक्रिया पूरा नगरी सेटिङमा लगाइएको, जग्गाको मुआब्जा विवाद नसुल्झिएको लगायतका कारणले ठेक्का विवादित बनेपछि विभाग निर्णयबाट पछि हटेको हो ।

संसदको विकास तथा प्रविधि समितिले पनि विभागको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै प्रक्रिया रोक्न निर्देशन दिंदै आएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत रेलका लागि लिक बिछ्याउने ट्रयाक बनाउन विभागले ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान गरेको थियो ।

टेन्डरमा निर्माण कम्पनीलाई रेल्वे ट्रयाक बेड निर्माण गरेको हुनुपर्ने सर्त राखिएको थियो । जसले गर्दा सबै निर्माण व्यवसायीले यसमा भाग लिन पाएका थिएनन् । राजनैतिक भागबन्डा मिलाएर सिमित ब्यक्तिलाई ठेक्का दिन खोजिएको प्रतिस्पर्धामा सहभागि हुन नपाएका निर्माण व्यवसायीको भनाई छ ।

यो टेन्डर प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो । तर विवादका बाबजुद पनि टेन्डर प्रक्रियालाई अगाडि बढाउने तयारी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *