फुटबलर एमबाप्पेलाई कोरोना संक्रमण

Last Updated Date:

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) का अनुसार अन्तर्राष्ट्रिय ड्युटीमै रहँदा उनमा सोमबार कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएसँगै उनी राष्ट्रिय टोलीको क्याम्प छोड्दै सेल्फ आइसोलेसनमा गइसकेका छन् । यसअघि गरिएको परीक्षणमा भने उनको नतिजा नेगेटिभ आएको थियो ।

फ्रान्स फुटबलका अनुसार २१ वर्षीय एमबाप्पे कोरोना पुष्टि हुने पीएसजीको पछिल्लो खेलाडी हुन् । यसअघि पीएसजीका नेयमार, मोउरो इकार्डी, एन्जल डि मारिया, लियान्द्रो पाराडेस, केलर नाभास र मार्किन्हसलाई कोरोना पुष्टि भइसकेको छ ।

नेसन्स लिगअन्तरगत शनिबार राति स्वीडेनविरुद्धको खेलमा एमबाप्पेले पहिलो रोजाईमा खेल्दै उनकै गोलमा १–० को जित निकालेको थियो । कोरोना पुष्टि भएसँगै एमबाप्पेले आज राति (मंगलबार) घरेलु मैदानमा हुने क्राएसियाविरुद्धको खेलका साथै फ्रेन्च लिग वानको लेन्स र मार्सेलीविरुद्धको खेल गुमाउने पक्का भएको छ ‌।

यद्यपि फ्रान्सेली लिगले एकै टोलीका ४ भन्दा बढी खेलाडी संक्रमित भए खेल स्थगित गर्न सक्ने जनाएको छ । पिएसजीको खेलबारे संघले चाँडै निर्णय गर्नेछ । एजेन्सी 

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top