नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने भएको छ । पटक-पटक स्थगित हुँदै आएको बैठक २६ गते बोलाउने सहमति भएको नेकपाका प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

सोमबार बिहान अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीचको छलफलले स्थगित बैठक बोलाउने सहमति जुटाएको हो ।

गत असार १० गतेदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो । त्यसयता बैठक बस्दै स्थगित हुँदै आएको छ ।

पछिल्लो पटक साउन १३ लाई तय भएको बैठक प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अध्यक्ष प्रचण्डले सञ्‍चालन गरेका थिए । त्यसपछि स्थगित भएको बैठक ४० दिनपछि बोलाइएको हो ।

सहमति खोज्नका लागि अध्यक्षद्वय ओली र प्रचण्डबीच भएका पटक-पटकका छलफल निर्रथक बनेपछि अन्तत: साउन २९ गते दुवै अध्यक्ष कार्यदल बनाउन सहमत भए । त्यसको भोलिपल्टै अर्थात् साउन ३० गते विवाद समाधानका लागि सुझाव दिने म्यान्डेडसहित महासचिव विष्णु पौडेल नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । उक्त कार्यदलले भदौ ६ मा ओली–दाहाललाई सुझावसहितको प्रतिवेदन बुझाइसकेको छ ।

प्रतिवेदनको प्रारम्भिक छलफल सचिवालयमा पनि भइसकेको छ । २६ गतेको स्थायी कमिटी बैठकमा कार्यदलले दिएको प्रतिवेदन र सचिवालय सदस्यहरुको धारणालाई समेत समेटेर दुई अध्यक्षले प्रस्ताव पेश गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *