व्यवसायीको माग : निषेधाज्ञाको विकल्प खोजौँ

काठमाडौँ । राष्ट्रिय व्यापार सङ्घले निषेधाज्ञाको विकल्प खोज्नुपर्ने माग गरेको छ । आइतबार काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलाललाई भेटेर सङ्घको टोलीले कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै निषेधाज्ञा लम्बिँदै जाँदा व्यापारी व्यवसायीहरु समस्यामा परेकाले निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

उनीहरुले निषेधाज्ञाको उचित विकल्प खोज्दै व्यवसायको वातावरण बनाउन माग गरेका हुन् । सङ्घका महासचिव बैकुण्ठ दाहालले कोरोना सङ्क्रमणका कारण निरन्तर भएको बन्दाबन्दी र निषेधाज्ञाले हजारौँ व्यवसायी व्यापार व्यवसाय छोड्न बाध्य भएको भन्दै यस क्षेत्रमा भएको पलायन रोक्न निषेधाज्ञाको विकल्प खोज्नुपर्नेमा जोड दिए ।

“व्यापार व्यवसाय सञ्चालन गर्न नपाउँदा घरभाडा, वित्तीय संस्थाको ऋण, व्याज, कर, तलबलगायत कुराहरुले व्यवसायी मानसिक तनावमा परेका छन्, व्यापार व्यवसायको वातावरण मिलाउन आग्रह गर्दछौँ”, उनले भने ।

सङ्घले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरी व्यवसाय सञ्चालनको वातावरण मिलाउन अनुरोधसमेत गरेको छ । सङ्घले उपत्यकामा पिसिआर परीक्षणको दायरा बढाउन पनि माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *