सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन : आठ खेलमा ११ विकेट

Last Updated Date:

काठमाडौँ । क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शनको शिलशिला जारी राखेका छन् । प्रतियोगितामा अहिलेसम्म खेलेका सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनले शनिबार राति भएको बार्बाडोस ट्रिनिडाडविरुद्धको खेलमा पनि त्यस्तै प्रदर्शन दोहोर्याएका हुन् ।

शनिबारको खेलमा सन्दीपले किफायती बलिङ गर्दै महत्वपूर्ण एक विकेट लिए । ४ ओभरमा २६ रन खर्चिएका उनले आक्रमक ब्याटिङ गरिरहेका बार्बाडोसका कप्तान जेसन होल्डरको विकेट लिए ।

योसँगै जारी प्रतियोगितामा सन्दीपले ८ खेलमा ११ विकेट लिएका छन् । सन्दीप धेरै विकेट लिने खेलाडीको सूचीमा चौथो नम्बरमा छन् । प्रतियोगितामा विकेटबिहीन नरहेका सन्दीपले अहिलेसम्म आठ खेल खेलेका छन् । वर्षाका कारण अवरुद्ध भएको एक खेलमा भने उनले बलिङ गरेनन् ।

सन्दीपले उत्कृष्ट बलिङ गरे पनि उनको टोली जमैका भने पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो । १६२ रनको लक्ष्य पछ्याएर ब्याटिङमा आएको बार्बाडोसले १८.२ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

बार्बाडोसका लागि कप्तान होल्डरले ६९ रन बनाए। यस्तै जोनाथन कार्टरले ४२ तथा मिचेल स्याटनरले अविजित रहँदै ३५ रनको योगदान दिए । बलिङतर्फ जमैकाका लागि सन्दीप, ओशाने थोमस र प्रिस्टन मस्वीनले समान एक-एक विकेट लिए ।

जमैकाका लागि जेर्मेनी ब्ल्याकउडले सर्वाधिक ७४ रन बनाए । यस्तै आन्द्रे रसेलले २८ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ५४ रनको अर्धसतकीय पारी खेले । ग्लेन फिलिप्सले १७ रन बनाए । बलिङतर्फ बार्बाडोसका जोसुवा बिशप, जेसन होल्डर, राशिद खान र हेडेन वाल्सले एक एक विकेट लिए ।

सन्दीप आबद्ध जमैकाले लिग चरणको अब एक मात्र खेल खेल्न बाँकी छ । जमैका यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अङ्क तालिकाको चौथो स्थानमा रहेको जमैकाले अब सेमिफाइनल भने शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससित खेल्नुपर्ने छ ।

 

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top