उपवासबाट हुने लाभ

  • हेम लक्ष्मी श्रेष्ठ

उपवास भन्नाले केहि निश्चित समयको लागि भोजन नगरी बस्नु हो । आफ्नो शरीर स्वस्थ राख्न तथा कैयौं प्रकारका बिरामीबाट छुटकारा पाउने सजिलो र सुलभ उपाय हो उपवास । उपवासका कारणले हाम्रो शरीरको भाग खासगरी पाचन प्रणालीलाई विश्राम मिल्छ । जुन प्रणालीले हामीले खाएको खाना पचाउन निरन्तर कार्य गरिरहेको हुन्छ । प्राचिन काल देखिनै उपवासको प्रचलन रहि आएको छ । हाम्रो शरीर भित्र नै एक प्रकारको प्राकृतिक रुपले शरीरलाई स्वस्थ राख्न सक्ने शक्ति रहेको छ जसले हामीलाई रोगमुक्त गर्न सक्छ ।

उपवास बस्नाले हाम्रो शरीरका अंगहरुले आफुलाई ठिक राख्न भरपुर समय पाउँछ । हाम्रो शरीर कैयौं कोशहरु मिलेर बनेको छ । यदि ति कोशहरुमा क्षति पुगेको भए उपवास बस्नाले त्यसलाई पनि मर्मत गर्न सघाउ पुर्याउँछ । जब हामी खाना खान्छांै शरीरको सम्पूर्ण शक्ति त्यसलाई पचाउने काममा खर्च हुन्छ । तर जब हामी उपवास बस्छौं त्यहि शक्तिले शरीरको हरेक अंगलाई ठीक पार्नका लागि प्रशस्त समय पाउँछ । उपवास बस्नाले रगत शुद्दिकरण हुन्छ । साथै शरीरको भित्रि भाग सफा पार्न मद्दत पुर्याउँछ । उपवासका कारण रोगी मानिसको रोग निको हुने गतिमा बृद्धि हुन्छ ।

मानिसहरु आफ्नो शरीरलाई चाहिने मात्रा भन्दा बढि भोजन गरिरहेका हुन्छन् । त्यति मात्र नभै उनिहरु स्वादका लागि अखाद्य वस्तु पनि खाईरहेका हुन्छन् । यि अखाद्य बस्तुका कारण शरीरमा विकार भरिन जान्छ । त्यसले विभिन्न प्रकारको रोग निम्त्याउँछ । समयमै यस कुरामा ध्यान पुर्याइएन भने हाम्रो शरीर रोगको घर बन्न पुग्छ । शरीरलाई चाहिने भन्दा अधिक खाएर मानिसमा मोटोपन बढ्छ । मोटोपन पनि एक प्रकारको रोग नै हो । ज्यादा मोटोपनले रक्तकोशीका बन्द हुन जान्छ । जसको कारण शरीरमा विभिन्न रोग जस्तो कब्जियत, अल्सर, झाडा, पखाला, बान्ता, सुन्निने रोग, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, शरीरको विभिन्न भागमा दुखाई, जोर्निको दुखाई, सुगर , यहाँसम्म कि क्यान्सर जस्तो घातक रोग पनि लाग्न सक्छ । यि सबै प्रकारका रोगहरु बाट उन्मूक्ति पाउनका लागि उपवास एउटा उत्तम उपाय हो । जसले शरीरलाई आराम दिई प्राकृतिक तरिकाले शरीर स्वस्थ राख्न मद्दत गर्दछ । कुनै पनि प्रकारको शुद्धि वा विकासका लागि पेट खाली हुनु आवश्यक हुन्छ । उपवासले हाम्रो शरीर मात्र नभै मन पनि स्वस्थ बनाउँछ । र स्वस्थ मनले अझ बढि फुर्तिका साथ काम सम्पन्न गर्न सकिन्छ ।

हाम्रो समाजमा प्राचिनकाल देखि नै उपवासको प्रचलन रहेको छ । प्राचिनकालमा ऋषिमुनी तथा ऋषिपत्निहरु यज्ञ गरी, उपवास बसी तप गर्दथे । जसले गर्दा शरीर स्वस्थ हुनुका साथै मन पनि स्वस्थ रहन्थ्यो । मानसिक स्वस्थताले शारिरीक स्वस्थता निर्धारण गर्छ । त्यसबेला यसलाई ब्रत लिने भनिन्थ्यो र आज पनि त्यसको प्रचलन कायम छ । हिन्दु सनातन धर्मावलम्बीहरुमा धेरै ब्रत बस्ने चलन छ । अन्य धर्मावलम्बीहरुमा पनि आ–आफनो तरिकाले उपवास बस्ने चलन छ । यस्तो खाले ब्रत सुख, सम्बृद्धि, यश, किर्ति, पारिवारिक सुख, दाम्पत्य सुख आदिको कामना गर्दै बस्ने गरेको हुन्छ । भर्खरै मात्रै हिन्दु नारीहरुको महान चाड तिजको ब्रत सकिएको छ । तिजमा शिव भगवानको पूजा अर्चना गरिन्छ । अविवाहित महिलाहरु सुन्दर, शुसिल, शालिन तथा आफुलाई बुझ्ने खालको श्रीमान्को कामना गर्दै ब्रत बस्ने गर्छन् भने विवाहित महिला आफ्नो श्रीमान्को मान सम्मान, शारीरकि तथा मानसिक शान्ती, घर परिवारमा सुख अनि दिर्घायूको कामना गर्दै ब्रत बस्ने गर्छन् ।

अहिले आएर ब्रतको रुप फेरिएको छ । यो आध्यात्मीक वा धार्मिक मात्र नभएर राजनीतिक साथै उपचारात्मक पनि भएको छ । राजनीतिक रुपमा व्यक्ति आफ्नो कुरा मनाउनका लागि अनशन बस्ने गर्दछन् । यो पनि एक प्रकारको उपवास हो । जस्तो डाक्टर गोविन्द केसिले गरेको आमरण अनसन । उनले आफ्नो व्यक्तिगत हितका लागि नभएर सामाजिक हितका लागि सरकार समक्ष माग राख्दै पटक पटक आमरण अनशन बसे । यस्तो अनशन निराहार वर्ग भित्र पर्छ । त्यस्तै समय समयमा विभिन्न कार्यक्षेत्रका कर्मचारीहरु पनि व्यवस्थापन समक्ष आफ्ना मागहरु राखी अनशन बस्छन् । त्यसमा कति सफल हुन्छन् कति हुँदैनन् ।

धेरै प्रकारको रोगहरु निको पार्नका लागि उपवास एक प्राकृतिक पद्दति हो । उपचारात्मक उपवास अर्थात उपवास चिकित्सा भनेको स्वत, स्फुर्त रुपमा केहि निश्चित समयका लागि केहि निश्चित रोग निको पार्नका लागि पानी मात्र पिएर बस्नु नै उपवास हो । रोग अनुसार कहिलेकाँहि निर्जल पनि उपवास बस्नु पर्ने हुन्छ । उपचारात्मक उपवास बस्ने तरिका र समयावधि पनि फरक फरक हुन्छ ।

उपवास बस्ने तरिकाको आधारमा निम्न प्रकारको हुन्छ :

क. निराहार : अन्न पानी केहि पनि नखाई बस्ने
ख. जलाहार : पानी मात्र पिएर बस्ने
ग. रसाहार : फलफुलको रस मात्र पिएर बस्ने
घ. फलाहार : फलफुल मात्र खाएर बस्ने
ङ. एकाहार : एकपल्ट, एकप्रकारको मात्र खाना खाने

समयावधिको आधारमा उपवास निम्न प्रकारको हुन्छ :

क. छोटो अवधिको उपवास (एक दिन देखि तिन दिन सम्म)
ख. मध्यम अवधिको उपवास (तिन दिन देखि सात दिन सम्म)
ग. लामो अवधिको उपवास (सात दिन भन्दा माथि)
घ. आवधिक उपवास (शास्त्र अनुसार महिनामा दुई पटक) र
ङ. दिन बिराएर गरिने उपवास

उपवास बस्दा Auto phagocytes process (आफुले आफैलाई खाने प्रक्रिया) शुरु हुन्छ । अर्थात हाम्रो शरीर कैयौं कोशहरुद्वारा बनेको छ । शरीरमा नयाँ कोश बन्ने र पुरानो मर्दै जाने हुन्छ । हामीले भोजन नगर्दा शरीरमा भएका कोशहरुलाई खाना पुग्दैन र ति कोशले आफ्नो भोक मेट्न ति मृत कोशहरुलाई अनि शरीरमा भएको बोसो तथा अन्य नचाहिने तत्वहरुलाई खाइदिने हुन्छ । साथै शरीरमा लाग्ने भाइरस अनि ब्याक्टेरियालाई पनि खाइदिन्छ । यसलाई नै Auto phagocytes process भनिन्छ । जापानका बैज्ञानिक Yoshinori Ohsumi ले Auto phagocytes process or Self-Eating Cell बारे पत्ता लगाएका हुनाले उनले mechanism for autophagy विषयमा सन् २०१६ मा नोबल पुरस्कार पाए । Autophagy लाई प्रेरित गर्न उपवास एउटा अस्त्र नै हो । हाम्रो शरीरलाई शक्तिको लागि ग्लुकोजको अति आवश्यक हुन्छ । जब हामी शरीरलाई खाना दिदैनौ तव हाम्रो शरीरमा ग्लुकोजको अभाव हुन्छ । र ग्लुकोजको अभावमा कोशहरु मर्न सक्छन् । यसलाई निर्वाह गर्न र उर्जाको स्तर बचाइराख्नका लागि हाम्रो शरीरले Auto phagocytes process थाल्दछ । यसरी उपवास भनेको एउटा एन्टिभाइरस सफ्टवेयर पनि हो भन्न सकिन्छ ।

उपवास बस्दा शक्ति खर्च नगरि शारीरिक, मानसिक तथा सामाजिक सम्पूर्ण रुपले आराम गर्नुपर्दछ । उपवास बसीसकेपछि त्यसलाई नियमपूर्वक राम्रो सँग तोडिएन भने त्यसले शरीरमा नकारात्मक असर पर्न सक्छ । उपवास बस्न जति सजिलो छ त्यसलाई तोड्न त्यतिनै गाह्रो हुन्छ । उपवास तोड्दा शुरुमै ठोस तथा चिल्ला खानेकुरा खानु हुदैन । पहिले पातलो जुस लिनु पर्दछ । पातलो जुसमा नरिवल पानी, लौकाको जुस, सुन्तलाको जुस आदि । त्यसपछि बाक्लो जुस जस्तो : मौसमी, गाजर, स्याउ, अम्बा, भुईकटहर, उखु आदि । दोश्रो दिन फलफुल खाने, तेश्रो दिन त्यसको अतिरिक्त सलाद खाने, चौथो दिन पकाएको भेजिटेबल सुप र अन्तमा पाचौं दिन अन्न खाने । तर यसै बिचमा सुख्खा खाना भने खानु हुँदैन । जस्तो : बिस्कुट, चाउचाउ, भुजिया, चिउरा आदि ।

कुन कुन रोगका लागि उपवास बस्नु उचित हुन्छ त ?

मोटोपन, अपच, कब्जियत, उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप, पिनास, दम, श्वास प्रश्वास सम्वन्धि रोग, चायां, दाग तथा छाला सम्बन्धि रोग, अल्सर, क्यान्सर, मुटु सम्बन्धि रोग, शरीरको कुनै पनि भागमा दुखाइ भएमा तथा दिर्घ रोगीहरुका लागि उपवास बस्नु उचित हुन्छ । तर रगतमा ग्लुकोजको मात्रा कम भएका व्यक्तिले निराहार उपवास बस्न मिल्दैन । चिकित्सकिय उपवासले शरीरमा निम्न परिवर्तन आउंछ । आध्यात्मक, भावनात्मक तथा शक्तिको मात्रामा बढोत्तरी हुनुको साथै रक्त संचार पनि राम्रो हुन्छ ।

चिकित्सकिय उपवास बस्दा प्रत्यक्ष रुपमा प्राकृतिक चिकित्सकको पूर्ण निगरानीमा मात्र बस्नु पर्दछ । किनकि उपवास बस्नु अगाडि स्वास्थ्य परिक्षण, उपवास किसिमको चयन, मनोपरामर्श, फाईदा बेफाईदाको जानकारी लिन जरुरी हुन्छ । आफु खुशी उपबास बस्दा यदि केहि गडबडी भएमा दुर्घटना हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *