बाग्लुङ बाढी : १४ शव फेला, सात जनाको सनाखत

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीमा परी बेपत्तामध्ये १४ जनाको शवभेटिएको छ । जसमा सात जनाको पहिचान भएको छ । बाढीमा परेका अझै २४ जना बेपत्ता छन् ।

मृत्यु भएकामध्ये ढोरपाटन– ९ का २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर विक, २२ वर्षीय जीवन विक, ११ वर्षीया डल्ली विक, २१ वर्षीया डिलमाया पुन, ३५ वर्षीया रिनाकुमारी घर्ती र ३२ वर्षीया करमती बुढाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

अन्य सात शवको अझै सनाखत हुन सकेको छैन । शव क्षतविक्षतावस्थामा रहेका कारण पहिचानमा ढिलाइ भइरहेको प्रहरीको भनाइ छ ।

बुधबार राति ढोरपाटनको देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटेपछि भुजीखोलामा भीषण बाढी आएको थियो । बाढीमा बेपत्ता १४ जनाको शव फेला परेको छ । बाढीले ७० घर पूर्ण क्षतिग्रस्त भएका छन् ।

बाढीमा परेका चार जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । तीमध्ये गम्भीरावस्थामा रहेका ढोरपाटन –९ का महेन्द्र पुनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ ।

बाढीले ढोरपाटन–९ स्थित लाँकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्रावि, सरस्वती प्रावि, भुजीखोला लघुजलविद्युत् आयोजनाका पाँच शाखामध्ये चार भवन, सडक छेउमा पार्किङ गरेर राखिएको एक जीप र मोटरसाइकल बगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *