प्रधानमन्त्रीको ‘खतिवडा मोह’ : प्रमुख राजनीतिक सल्लाहकारदेखि छायाँ अर्थमन्त्री बनाउनेसम्मको चर्चा

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने कोटामा राष्ट्रिय सभामा पठाउने निर्णय गर्यो । अर्थमन्त्री युवराज खतिवडालाई सिफारिस गर्ने प्रधानमन्त्री केपी ओलीको चाहाना विपरित बैठकले गौतमलाई पठाउने निर्णय गरेको हो ।

गौतमको नाम सिफारिश भएसँगै खतिवडा मन्त्रीबाट विदा हुने पक्का भएको छ । विगत ६ महिनादेखि संघीय सांसदविनै मन्त्रीको जिम्मेवारी पाइरहेका खतिवडाको कार्यकाल भदौ २० गते सकिँदैछ । नेपालको संविधानको धारा ७८ (१) अनुसार संघीय संसद्को सदस्य नभएको व्यक्ति पनि ६ महिनाका लागि मन्त्री बन्न सक्ने व्यवस्था छ । खतिवडाको सांसद पद गत फागुन २० गते नै सकिएको थियो । संविधानको यही धारामा टेकेर प्रधानमन्त्री ओलीले त्यतिबेला खतिवडालाइ अर्थमन्त्रीमा नियुक्त गरेका थिए ।

खतिवडालाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिने प्रधानमन्त्री ओलीको सम्पूर्ण प्रयास असफल भएपछि बालुवाटार यतिबेला खतिवडालाई अर्थमन्त्रालय नै हेर्नेगरी सम्भावित भूमिकाको खोजीमा रहेको चर्चा हुन् थालेको छ । अहिलेको मन्त्रिपरिषद्मा खतिवडा ओलीको खास विश्वासपात्र मानिन्छन् । त्यसैले पनि खतिवडाको बहिर्गमनले आफू कमजोर हुने प्रधानमन्त्रीको बुझाइ छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उनलाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकार बनाएर सबै मन्त्रालयको अगुमन गर्ने अधिकारसहितको जिम्मेवारी दिने तयारी गरेका छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बनाएर खतिवडालाई सबै मन्त्रालय हेर्ने गरि जिम्मेवारी दिने बालुवाटारको तयारी छ । हुन् त अहिलेका सल्लाहकार विष्णु रिमाल पनि प्रधानमन्त्री ओलीका खास मान्छे हुन् । तर, रिमाललाई अन्त कतै व्यवस्थापन गरेर खतिवडालाई उनको स्थानमा लैजाने गरि प्रधानमन्त्रीले तयारी गरिरहेको बताइएको छ ।

कतिपयले भने प्रधानमन्त्री ओली खतिवडालाई कुनै न कुनै रुपमा अर्थमन्त्रालयमै सक्रिय गराउने चाहानामा रहेको आकलन गरेका छन् । आफ्ना विश्वासपात्र विष्णु पौडेललाई अर्थमन्त्री बनाएर खतिवडालाई अर्थमन्त्रालयमै सक्रिय बनाउन सकिने सम्भावनाको खोजीमा प्रधानमन्त्री रहेको स्रोतको भनाइ छ । किनभने यसअघि पौडेल अर्थमन्त्री हुँदा खतिवडाले नै मार्गनिर्देश गरेका थिए । अब पनि उनैलाई अर्थमन्त्रीमा ल्याएर ओलीको पहिलो कार्यकालमा जस्तै खतिवडालाई सक्रिय गराउने मनशायमा ओली रहेको चर्चा छ ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्रालय आफैसंग राखेर खतिवडामार्फत चलाउने गरि तयारी गरको चर्चा पनि छ । तर, सरकार एकलौटी ढंगले चलाएको, महत्वपूर्ण निर्णय गर्दा पार्टीमा छलफल नगरेको, आफू निकटलाई मात्र छानीछानी जिम्मेवारी दिएको जस्ता आरोप खेप्दै आएका प्रधानमन्त्री ओलीलाई उनले चाहेजस्तो निर्णय गर्न भने अप्ठेरो छ ।

यता, झण्डै अढाई वर्षे सत्तायात्रामा शनिबारदेखि ब्रेक लाग्ने निश्चित भएपछि अर्थमन्त्री खतिवडाले भने आजै राजीनामा दिने तयारी गरेका छन् । आज बस्ने मन्त्रिपरिषद बैठक नै उनको अन्तिम बैठक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *