ललितपुरमा कर्फ्यू : उल्लङ्घन भए गोली हान्न आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज (शुक्रवार) बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

निषेधाज्ञा जारी भएको अवस्थामा बिहीवार रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव उत्पन्न भएपछि प्रशासनले कर्फ्यू लगाएको हो ।

स्थानीय प्रशासनको अनुमतिबिना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो । सो क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । आक्रोशित स्थानीयले एक ट्राफिक प्रहरीलाई बिच सडकमै कुटपिटसमेत गरेका थिए ।

ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरषाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।

शान्तिसुरक्षा र चमनचयन कायम राख्न कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *