कोभिड-१९ पछि कहाँ पुगिएला ?

Last Updated Date:

  • सुवेदी थानु 

गाउँघरतिर पहिले-पहिले पुराना खालका घर हुन्थे । कतै बासले झाजेको घर त कतै टिनले बेरेको । त्यतिबेला गाउँका कच्ची घरमा हुने बृद्ध आमा बुवालाई एउटै समस्या हुन्थ्यो, चोरी । वर्षभरी दु:ख गरेर उब्जाएको अन्न, जम्मा गरेर राखेको केही नगद चोरले सजिलै चोरेर लैजाने गर्थ्यो । चोरको बिगबिगीबाट बच्न गाउँका घरमा साँझ परेपछि ढोकाको गजवारमा थाल या आवाज आउने खालका बस्तुहरु राखेर सुत्ने गरिन्थ्यो । खिसिक्क मुसाको आवाज आउँदा पनि जबर्जस्ती खोक्ने चलन थियो, जस्ले गर्दा चोर आईहाले पनि भित्रका मानिसलाई थाहा भएको भ्रम पैदा हुन्छ भन्ने विश्वास गरिन्थ्यो । यो त्यतिबेलाको गाउँको वास्तविक कथा थियो ।

एउटा प्रसंगमा २५ सालतिरको एउटा घटना घरबेटी बुवाले सुनाउनु भयो । उहाँहरुको बसाई झापा, इटहरी र मोरङ नजिकै पर्छ । म शनिश्चरे झापामा बस्थे । त्यहाँ चोरको अति नै बिगबिगी हुने । गर्मीले उत्पात भयो र बाहिर खाट राखियो । साँझ खाट भित्र लैजान बिर्सियो भने भोलिपल्ट गायब हुन्थ्यो । डोको, हसिया, कोदालो सधै जसो हराउने गर्थ्यो । चोरले गाईबस्तुसमेत फुकाएर लैजाने गर्थ्यो ।

एकदिन उर्लाबारी ससुराली गएको थिए । ससुरालीमा साँझ खाना खाई सकेपछि चोरको बिगविगी कै विषयमा धेरैबेर कुरा गरेर बसियो । ससुराले बढो गजबको उपाय बताउनु भयो । बाहिर कुनै पनि किम्ती सामान नराख्ने सबै प्रयोगमा हुने सामान घरभित्र राख्ने । गाईबस्तु सबैको घाटिमा ट्ङटङ आवाज आउने घन्टी झुण्ड्याउने, ताकी गाईबस्तु प्राय: चलिरहेका हुन्छन् यदि घण्टीको आवज आएन भने एकपटक गोठमा गएर हेर्ने । यसरी सधै चनाखो हुने । उपाय बताएर सुतेको दिन नै हाम्रो ससुराको त्यो बेला पाँच हजार हालेर किनेको झक्झड गोरु गोठबाट नै गायब भयो । भोलिपल्ट गोरु बाधेको दाम्लोको छेउमा घण्टा भेटियो । एउटा चोरले घण्टा बजाएर एकछिन गोठ मै बसेछ अर्कोले  फुकाएर लगेछ । केही समयपछि घण्टा बजाउने चोर घण्टा त्यही छोडेर गएछ ।

यी दुई घटना एउटा उदाहरण मात्र हुनसक्छ । अबका दिनमा यी उदाहरणमा मात्र सीमित नभएर फेरि दोहोरिन सक्ने खतरा छ । किनकी कोभिड-१९ का कारण हरेक मुलुकको अर्थतन्त्र तहसनहस भएको छ । यो अवस्थामा सुधार आउन अझै केही वर्ष पक्कै लाग्नेछ । नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुक त झन् ठूलो मारमा पर्दैछ ।

कृषि भनिएपनि नेपालको अर्थतन्त्र मुल रुपमा पर्यटन र रेमिटेन्समा अडिएको छ । कोभिडका कारण आज यी दुवै क्षेत्र थला परेका छन् । अहिले बेरोजगारीको समस्या बिकराल बन्दैछ । पछिल्लो तथ्यांकअनुसार बेरोजगारी ११ दशमलब ४ प्रतिशत छ । कोभिड-१९ कै कारण यो अझै बड्ने निश्चित छ । सरकारले बेरोजगारी समस्या कसरी हल गर्न आवश्यक उपाय अपनाउन नसके आगामी दिन डरलाग्दो हुने देखिन्छ ।

बैदेशिक रोजगारिमा गएका ४० लाख नेपालीमध्ये २० प्रतिशतको रोजगारी गुम्ने निस्चित भैसकेको छ । यो तथ्यांक त भारतबाहेकका गन्तव्य राष्ट्रको मात्र भयो । भारतमा गएका कति नेपालीको रोजगार गुम्यो र कति रोजगारी गुमाउने अवस्थामा छन् सरकारसंग आँकडा नै छैन । पर्यटन क्षेत्र त झन् धारासायी नै बनेको छ । बहुपक्षीय आक्रमणको शिकार बनेको छ नेपालको पर्यटन क्षेत्रसंग जोडिएका लाखौ मानिस आज बेरोजगार बन्ने अवस्था छ । पर्यटन क्षेत्रमा आवद्ध कति जनाको रोजगारी गुमिसकेको छ, यकिन आंकडा सरकारसंग छैन ।

अरु केही समय यस्तै स्थिति रहे रोगले भन्दा शोक र भोकले मर्नेको संख्या अकल्पनीय हुनसक्छ । दिनप्रतिदिन महंगाई बढिरहेको छ । यस्तो प्रतिकूल अवस्थामा ठूलो संख्या मानसिक रोगले ग्रस्त हुने र गलत निर्णय लिन सक्ने सम्भाबना टड्कारो छ ।

बेरोजगार समस्या उग्र हुँदै जाँदा चोरि, लुटपाट, अपहरण, जस्ता आपराधिक कृयाकलाप बढ्ने सम्भाबना उच्च हुन्छ ।
बर्षेनी भित्रने लाखौँ पर्यटकले हाम्रो अर्थतन्त्रमा निकै ठूलो टेवा पुगेको थियो । अब त्यो केही वर्षका लागि कोमामा गएको छ । रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको छ । त्यसले पनि ठूलै धक्का दिने निश्चित जस्तै छ ।

त्यसैले अब सरकारले छिटै आयमूलक र उद्धमशील क्षेत्रमा युवालाई परिचालन गर्नुपर्छ । त्यसका लागि नयाँ रणनीति र योजना बनाउनुपर्छ । त्यसो गर्न सके लाखौ युवाले आयमूलक कार्यमा अग्रसर हुने वातावरण सिर्जना हुन्छ । कोभिडविरुद्धको लडाईसंगै सरकारको बेरोजगारी समस्या समाधानका लागि आवश्यक योजना बनाउन आजैदेखि गृहकार्य गर्न आवश्य छ । अन्यथा ५० वर्ष अगाडिको जस्तै गोठमा बाँधेका गाइबस्तु जोगाउन घण्टी बाध्नुपर्ने अवस्थामा हामी पुग्नेछौ । यदी यस्तो अवस्थामा पुगियो भने मुलुक एकैसाथ बहुपक्षीय समस्यामा फस्नेछ र चरम अराजकता मौलाउनेछ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top