एमसीसी सम्झौता संशोधन गरेर पनि लागू हुन सक्दैन : नेता पोखरेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता खारेज हुनुपर्ने बताएका छन् ।

एमसीसी खारेज अभियानले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पोखरेलले एमसीसी सम्झौता मुलुकको राष्ट्रिय हित विपरित रहेकाले खारेजीको विकल्प नभएको बताएका हुन् । एमसीसी सम्झौतालाई लिएर पार्टीभित्र विवाद बढिरहेका बेला उनले शंसोधन या परिमार्जन गरेर पनि अनुमोदन गर्न नहुनेमा जोड दिएका हुन् ।

‘‘हाम्रोजस्तो भूराजनीति अवस्था भएको मुलुकमा विदेश अनुदान लिँदा धेरै कुरा विचार गर्नुपर्ने हुन्छ । ५० करोड डलरभन्दा देशको स्वाभिमान ठूलो कुरा हो । मेरो विचारमा एमसीसी सम्झौता संशोधन गरेर पनि लागू हुन सक्दैन । स्पष्ट रुपमा भन्दा यो खारेज नै हुनुपर्छ’’, उनले भने ।

पोखरेलले अमेरिकी अधिकारीहरुले एमसीसी सम्झौता इन्डोप्यासफिक रणनीतिको अंग भएको स्पष्ट पारिसकेको अवस्थामा सम्झौता संशोधनले पनि राष्ट्रिय हितको रक्षा गर्न नसक्ने बताए । उनले भने, ‘‘अमेरिकी अधिकारीहरुले नै एमसीसी इण्डोप्यासफिक रणनीति (आइपिएस) को अंग भएको बताइसकेका छन् । यस्तो परिस्थितिमा यसलाई संशोधनतिर लाग्नुभन्दा खारेजको स्पष्ट धारणा बनाएर अघि बढ्नुपर्छ ।’’

नेकपामा लामो समयदेखि एमसीसी सम्झौताबारे विवाद छ । सम्झौता विवादित बनेपछि नेकपाको २०७६ माघमा बसेको केन्द्रीय कमिटी बैठकले पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्सीय अध्ययन तथा सुझाव कार्यदल गठन गरेको थियो ।

कार्यदलले यथाअवस्थामा सम्झौता अनुमोदन गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको थियो । कार्यदलले बुझाएको प्रतिवेदनमा विभिन्न ११ बुँदा सच्याउन सरकारलाई सुझाव दिइएको छ ।

नेकपाले पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधान गर्न ६ सदस्सीय कार्यदल गठन गरेको थियो । कार्यदलले आवश्यक संशोधन गरि एमसीसी सम्झौता अनुमोदन गर्न सकिने सुझाव दिएको छ ।

प्रधानमन्त्री केपी ओलीलगायत नेकपाका कतिपय नेताहरुले एमसीसी सम्झौता स्वीकार गरेर जानुपर्ने बताइरहेका बेला पोखरेलले भने सम्झौता खारेजीको माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *