कोरोना संक्रमणबाट चितवनमा थप एकको मृत्यु, मृतकको संख्या पाँच पुग्यो

काठमाडौँ । चितवनमा कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर –११ का ५२ वर्षीय पुरुषको आइतबार मध्याह्न १२ बजे मृत्यु भएको हो ।

यससँगै चितवनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि पहिलोपटक चितवनमा भरतपुर–११ कै एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो ।

आइतबार मृत्यु भएका पुरुष भदौ ४ गते निमोनिया र उच्च ज्वरोको कारण अस्पताल भर्ना भएका थिए । उनको श्वासप्रश्वासमा थप जटिलता देखिएपछि कोरोना परीक्षण गर्दा  भदौ ७ गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै उनको मृत्यु भएको कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

यससँंगै चितवनमा समग्ररुपमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । तीमध्ये पाँच चितवनका, तीन मकवानपुरका तथा एक-एक बारा, नवलपरासी(बर्दघाट सुस्तापूर्व), गोरखा र कैलालीका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *