कालीकोट पहिरोः तीन घर पुरिए, एक बालकको मृत्यु

काठमाडौँ । कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा तीन घर पुरिएका छन् भने एक जनाको मृत्यु भएको छ । आइतबार बिहान गएको पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाका अनुसार एक बालकको मृत्यु भएको छ भने दुई जनालाई जिवितै उद्धार गरिएको छ । ”पहिरोबाट १३ वर्षीय बालक अर्जुन हमाल र ३५ वर्षीय महिला पुण्य शाहीलाई जीवितै उद्धार गरिएको छ,” उनले भने, “फोन सम्पर्क नहुँदा पूर्ण विवरण आउन सकेको छैन ।”

अहिले प्रहरी टोली घटनास्थल पुगेर उद्धारमा लागिसकेको प्रहरी प्रमुख ओलियाले बताए । उद्धारका लागि जेसिबीको समेत समेतले प्रयोग गरिएको छ । घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जीवितै उद्धार गरिएका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउँदै गरिएको जानकारी दिए ।

घटनामा के कति मानवीय क्षति भएको छ ? भन्ने एकीन विवरण आउन नसकेको जनाउँदै उनले जुम्लाबाट नेपाल प्रहरी, विपद् व्यवस्थापन समिति, सशस्त्र प्रहरी घटनास्थल पुगेर उद्धार गरिरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *