पाकिस्तानमा भिषण बाढी पहिरो : ३० जनाको मृत्यु, हजारौँ विस्थापित

पाकिस्तानमा अविरल वर्षा र त्यसपछि आएको भिषण बाढी र पहिरोमा परि ठूलो धनजनको क्षेति भएको छ । प्राप्त पछिल्लो समाचारअनुसार बिहीबार र शुक्रबारको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परि कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

केही दिनयता त्यहाँ जारी वर्षाका कारण बाढीको प्रकोप देखिएको हो । पाकिस्तानको कराँचीमा बाढीले बढी क्षति पुर्याएको समाचारमा जनाइएको छ ।

पाकिस्तानको एक पत्रिका ‘डन’ले दिएको जानकारीअनुसार पाकिस्तानमा विगत ९० वर्षको रेकर्डभन्दा पनि बढी वर्षा भएको छ ।

कराँचीको मौसम विभागले दिएको जानकारीमा उक्त नगरमा पहिलो पटक १२ घन्टामा नै निकै भारी मात्रामा पानी परेको थियो । भारी वर्षा र बाढीले कराँची शहरलाई ठूलो क्षति पुर्याएको छ । यहाँ हजारौँको संख्यामा सैनिकलाई उद्धारको लागि परिचालन गरिएको छ ।

बाढीमा फसेका सयौँ व्यक्तिलाई उद्धार गरिएको छ भने यहाँका हजारौँ व्यक्ति बाढीबाट विस्थापित भएका छन् । अकस्मातको भारी वर्षाका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । त्यसैगरी यहाँका धेरै क्षेत्रमा भौतिक संरचनाहरुमा पनि क्षति पुगेको बताइएको छ ।

वर्षा नरोकिएकोले अझै सतर्क रहन स्थानीय प्रशासनहरुले सूचना जारी गरेका छन् । आवश्यक सहयोगका लागि ठूलो संख्याका उद्धारकर्मी र सेना परिचालन गरिएको बताइएको छ । एजेन्सी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *