उपत्यकामा अहिलेसम्मकै उच्च संक्रमित : २४ घण्टामा ४१५ जनामा संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर दैनिक रुपमा बढिरहेका बेला पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । उपत्यकामा गत २४ घण्टामा ४१५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भनेको जानकारी दिएका हुन् ।

उनका अनुसार गत २४ घण्टामा काठमाडौँमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना संक्रमित थपिएका हुन् ।

लकडाउन खुलेयता उपत्यकामा संक्रमितको संख्या लगातार बढिरहेको छ । उपत्यकामा बिहीबार ३७७, बुधबार ३०१, मंगलबार २३२ र सोमबार २२४ जनामा संक्रमण देखिएको थियो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा मुलुकभर ९२७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसंगै देशभर संक्रमितको कूल संख्या ३६ हजार ४५६ पुगेको छ ।

पछिल्ला दिनमा राजधानीमा कोरोना संक्रमणको जोखिम बढेपछि उपत्यकाका तिनै जिल्लामा निषेधाज्ञा लागू  गरिएको छ । यद्यपि संक्रमितको संख्या भने घटेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *