सीपीएलमा सन्दीपको अर्को उत्कृष्ट प्रदर्शन : ४ ओभरमा १६ रन खर्चिएर २ विकेट लिए

Last Updated Date:

काठमाडौँ । क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने उत्कृष्ट बलिङको शिलशिला जारी राखेका छन् । प्रतियोगितामा अहिलेसम्म खेलेका सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनले बिहीबार बिहान भएको बर्बाडोस ट्राइडेन्सविरुद्धको खेलमा पनि त्यस्तै प्रदर्शन दोहोर्याएका हुन् ।

बिहीबारको खेलमा सन्दीपले महत्वपूर्ण दुई विकेट लिए । ४ ओभरमा मात्र १६ रन खर्चिएका उनले १३ बल डट राख्न सफल भए । उनको बलिङमा एक मात्र चौका प्रहार भएको थियो । उनले रसिद खान र एस्ली नर्सको विकेट लिए । आजको खेलमा सन्दीपले ब्याटिङ पनि गरेका थिए । उनी ६ बल खेल्दै ४ रनमा अविजित रहे  ।

योसँगै जारी प्रतियोगितामा सन्दीपले ५ खेलमा ७ विकेट लिएका छन् । सन्दीपले आफ्नो पहिलो, दोस्रो र चौंथो खेलमा समान १/१ विकेट लिएका थिए भने तेस्रो खेलमा दुई विकेट लिएका थिए ।

सन्दीपले उत्कृष्ट बलिङ गरे पनि उनको टोली जमैका भने ३६ रनले पराजित भएको छ । पहिला ब्याटिङ गरेको बर्बाडोसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १४८ रन बनाएको थियो । १४९ रनको मध्यम लक्ष्य पछ्याएर ब्याटिङमा आएको जमैकाले ९ विकेट गुमाएर मात्र ११२ रन बनाउन सक्यो ।

आजको हारसंगै जमैका अङ्क तालिकाको पाँचौ स्थानमा झरेको छ । जमैकाले हालसम्म खेलेको पाँच खेलमध्ये दुईमा जित तथा तीनमा हार बेहोर्दै ४ अङ्क जोडेको छ ।  अब जमैकाले आफ्नो छैटौँ खेल भदौ १४ गते खेल्नेछ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top