सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ, ४ खेलमा ५ विकेट

Last Updated Date:

काठमाडौँ । क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने उत्कृष्ट बलिङको शिलशिला जारी राखेका छन् । प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा दुई विकेटसहित निकै किफायती बलिङ गरेका सन्दीपले चौथो खेलमा पनि त्यस्तै प्रदर्शन दोहोर्याए ।

अघिल्ला सबै खेलमा विकेट लिन सफल भएका सन्दीपले बुधबार बिहान भएको गुएना अमेजन वारियर्सविरुद्धको खेलमा पनि एक विकेट लिए । उत्कृष्ट बलिङ गर्ने क्रममा उनले ४ ओभरमा मात्र १२ रन खर्चिएका थिए । खेलको १०औँ ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले मात्र तीन रन दिए । खेलको १२औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै उनले चार रन खर्चेर एक विकेट लिए । ओभरको पहिलो बलमा नै उनले सिर्फान रदरफोर्डको विकेट लिएका थिए ।

खेलको १४औं ओभरमा आफ्नो तस्रो ओभर बलिङ गर्दै उनले मात्र एक रन दिए । आफ्नो व्यक्तिगत अन्तिम तथा खेलको १६औं ओभरमा सन्दिपले चार रन खर्चिएका थिए । आजको खेलमा उनको बलमा विपक्षी खेलाडीले चौका र छक्का हिर्काउन सकेनन् ।

योसँगै जारी प्रतियोगितामा सन्दीपले ४ खेलमा ५ विकेट लिन सफल भएका छन् । सन्दीपले आफ्नो पहिलो र दोस्रो खेलमा समान १/१ विकेट लिएका थिए ।

सन्दीपको उत्कृष्ट बलिङको मद्दतमा उनको टिम जमैका तलावाजले प्रतिगोगितामा दोस्रो जित निकालेको छ । ट्रिनिडाड एन्ड टोबागोस्थित क्विन्स पार्क ओभलमा भएको खेलमा टस जितेर जमैकाले बलिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको गुएनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाउन सक्यो । जमैकाले १०९ रनको विजय लक्ष्य ५ विकेटको नोक्सानीमा १८ ओभरमा पूरा गर्यो ।

जितसँगै सन्दीपको टोली जमैका अङ्क तालिकाको चौथो स्थानमा उक्लेको छ । जमैकाले हालसम्म दुई खेलमा जित तथा दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top