काठमाडौँ । कोरोना महामारीको लडाइमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारका विरुद्ध राजधानीमा प्रदर्शन भएको छ ।
काठमाडौँसहित देशका विभिन्न स्थानमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन गरेको हो ।
‘स्वास्थ्यकर्मीको सम्मान गरौँ’, ‘सुरक्षाकर्मीलाई सहयोग गरौँ’, ‘सञ्चारकर्मीको संरक्षण गरौँ’, ‘सर्वत्र सद्भाव प्रदर्शन गरौँ’ भन्ने जस्ता आग्रह गर्दै समाजले सोमबार बिहान जोरपाटीमा प्रदर्शन गरेको हो ।
समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईँ र काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीले सङ्कटका घडीमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेकाले काममा सहयोग गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले अत्यावश्यक सेवाका यी क्षेत्रप्रति सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै यस्ता संवेदनशील क्षेत्रमा कार्यरतको सधैँ सम्मान र सहयोग गर्न सबैलाई आग्रह गरे ।
प्रदर्शनमा डेढ दर्जन अधिकारकर्मीको सहभागिता थियो । सुरक्षा विधि अपनाएर भौतिक दूरी कायम राख्दै कार्यक्रम आयोजना गरिएको सभापति पुडासैनीले जानकारी दिए ।