सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ

Last Updated Date:

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध बलिङ गर्दै सन्दीपले दुई विकेट लिए ।

सन्दीपले निकै किफायती बलिङ पनि गरे । चार ओभर बलिङ गर्दै उनले आठ रन मात्र खर्चिए । उनले शेरफेन रदरफोर्डलाई ६ रनमा तथा क्रिस ग्रिनलाई २ रनमा पभेलियन फर्काए । नवौँ ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन दिए । त्यसपछि ११औँ ओभरमा व्यक्तिगत दोस्रो ओभर बलिङ गरेका उनले  ओभरको दोस्रो बलमा गुयानाका रदरफोर्डलाई मुजिब उर रहमानद्वारा क्याच आउट गराए । सो ओभरमा उनले  मात्र एक रन दिए ।

यस्तै आफ्नो व्यक्तिगत तेस्रो तथा खेलको १३औँ ओभरमा बलिङ गरेका सन्दीपले मात्र तीन रन खर्चिए । त्यसपछि खेलको १५औँ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका उनले ओभरको चौथो बलमा क्रिस ग्रिनलाई आउट गरे । उक्त ओभरमा उनले दुई रन मात्र दिए ।

टस जितेर जमैकाले फिल्डिङ गर्ने निर्णय गरेपछि गुयानाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १९.१ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । एक सय २० रनको विजय लक्ष्य पछ्याउने क्रममा जमैकाले सात विकेटको नोक्सानीमा १०७ रन बनाउन सक्यो । गुयानाका लागि ब्रान्डन किङले सर्वाधिक २९, चन्द्रपल हेमराजले २१, रस टेलरले २१ तथा नविन उल हकले १४ रन बनाए । बलिङतर्फ जमैकाका मुजिब उर रहमान र कार्लोस वार्थवेटले तीन/तीन तथा आन्द्रे रसेलले एक विकेट लिए ।

विजय लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि आन्द्रे रसेलले अविजित ५२, रोभमन पावेलले २३ र आशिफ अलीले १४ रन बनाए । सन्दीपले आजको खेलमा ब्याटिङ समेत गरेका थिए । खेलको १६औँ ओभरमा जमैकाका लागि ब्याटिङ गर्न आएका उनले कुनै रन बनाउन भने सकेनन् । उनले मात्र तीन बल खेलेका थिए ।

सन्दीपले हालसम्म तीन खेलमा चार विकेट लिएका छन् । भदौ ३ गते सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा उनले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए । त्यस्तै भदौ ५ गते ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा सन्दीपले चार ओभरमा ३० रन दिँदै एक विकेट लिएका थिए ।

सन्दीप तेस्रो पटक सिपिएल खेल्दै छन् । उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रियाट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top