राष्ट्र बैंकको निर्देशन : निषेधाज्ञामा रेमिटेन्स भुक्तानी नरोक्नू

काठमाडौँ । निषेधाज्ञा जारी भएको बेला वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पठाएको पैसा सहज रुपमा झिक्न पाउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिटेन्स) सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

शुक्रबार राष्ट्र बैंकको विदेशी विनिमय ब्यवस्थापन विभागले एक निर्देशन जारी गर्दै वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका नेपाली नागरिकले पठाउने पैसा सहज रुपमा झिक्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

कोभिड-१९ को संक्रमणका कारण काठमाडौं उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा गरिएको निषेधाज्ञाले रेमिटेन्स भुक्तानी पनि प्रभावित भएका बेला केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा कोरोना संक्रमणको जोखिम बढेर गएपछि बिहिबारदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी रहेको समयमा सहज रुपमा विप्रेषण पाउन् भन्ने ध्येयका साथ काउन्टर खोल्न निर्देशन दिइएको विज्ञप्तिमा जनाइएको छ ।

विदेशमा कार्यरत नेपालीले पठाएको पैसा यहाँका आफन्तले भुक्तानी नपाउदा घरव्यवहार चलाउन समस्या पर्ने भएकाले स्थानीय प्रशासनसँगको सहमतिमा वा निषेधाज्ञा लगायतका आदेशको पूर्ण रुपमा परिपालना हुने गरी आदेश अवधिभर विप्रेषण सम्बन्धी वित्तीय सेवा प्रवाह गर्न बैंकले आग्रह गरेको छ । त्यस्ता काउन्टर खोल्दा स्वास्थ्य सुरक्षासँग जोडिएका सबै उपाय अवलम्बन गर्नसमेत भनेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी विप्रेषण फण्ड ट्रान्सफर तथा विदेशी मुद्रा सटही गर्न समेत केन्द्रीय बैंकले सबैलाई आग्रह गरेको छ । कारोबारलाई सकेसम्म विद्युतीय गर्न र स्वास्थ्य समबन्धी मापदण्डको पूर्ण परिपालना गर्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *