निषेधाज्ञा उलंघन गर्ने १२ सय ‘होल्ड’मा, करिव ९ सय सवारी साधन कारवाहीमा

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि काठमाडौँ उपत्यकामा लागू गरिएको निशेधाज्ञा उलंघन गर्नेलाई प्रहरीले कारवाही गरेको छ । निषेधाज्ञा गरिएको पहिलो दिन अत्यावश्यक कामबाहेक बाहिर निस्कने करिव १२ सय मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको हो ।

यसरी होल्ड गरिएकामध्ये ललितपुरमा करिब पाँच सय छन् । त्यसैगरी काठमाडौंमा साढे चार सय कारवाहीमा परेका छन् भने भक्तपुरमा साढे दुई सयजति कारवाहीमा परेका छन् ।

निषेधाज्ञाको पहिलो दिन भएकाले उनीहरुलाई केही समय होल्ड गरेर छोडिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, निषेधाज्ञाको उलंघन गरि बाहिर निस्किएका सवारी साधन पनि कारवाहीमा परेका छन् । अत्यावश्यक काम नपरी गुडेका ६९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उपत्यकाको सडकमा मात्रै निशेधाज्ञाको पूर्ण रुपमा कार्यान्वयन गराउन ३३ सय प्रहरी परिचालन भएको प्रहरीले जनाएको छ ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि उपत्यकाका तिनै जिल्लामा बिहीबारदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा आदेश जारी भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन् । अनावश्यक काममा निस्किएको पाइए सङ्क्रामक रोग ऐनअनुसार कारवाही हुनेछ । ऐनमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *