- देवेन्द्रकिशोर ढुंगाना
झापा । समुदायमा कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला भरी निषेधित क्षेत्र घोषणा गर्नुका साथै अधिकांश स्थानीय तहहरुले आफ्नो क्षेत्रमा लकडाउन जारी राखेको बेला तस्करीका घटनाहरु सार्वजनिक भईरहेका छन् ।
लकडाउनको बेला राजमार्ग सुनसान भएको अवस्थामा इटहरी प्रहरीले पाँच लाख मूल्य बराबरको अवैद्य सुर्तीसहित २ वटा टेम्पो बरामद गरेको छ ।
इटहरी उपमहानगर वार्ड नं ७ बज्राहाबाट प्रहरीले सोमबार बिहान ४ बजे लुकिछिपि बिक्री गर्नका लागि ल्याइएको ११ बोरा (२७५ किलो) अवैध सुर्ति बरामद गरेको हो ।
सुनसान राजमार्गमा टेम्पो रोकिराखेको देखेर शंका उत्पन्न भइ चेकजाँच गर्दा सो परिमाणको अवैध सुर्ती बरामद भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इटहरीको मुख्य चोकमा प्रहरीले चेकजाँचमा कडाई गरेपछि भित्रिबाटो हुँदै गाउँसम्म पुर्याएर बिक्रिका लागि लैजाँदै गर्दा उक्त परिमाणमा सुर्ति बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले सुराकी पाएको थाहा पाएपछि टेम्पो चालक भने फरार रहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीले सुर्तिसहित को २ ह २३८६ र को १ ह ८५६२ नम्बरको टेम्पो पनि बरामद गरेको छ । प्रहरीका अनुसार बरामद गरिएको अवैध सुर्ती र टेम्पो भन्सार कार्यालय सुनसरीलाई बुझाइएको छ ।
सुनसरी प्रहरीले भारतसँग सीमा जोडिएका दक्षिणवर्ती क्षेत्रहरुबाट यो महिना मात्रै तीन पटक गरी ठूलो परिमाणमा सुर्ति बरामद गरेको थियो ।