भोक्राहा–नरसिंह हत्या काण्ड : हत्यारा नजिक पुग्यो प्रहरी

  • देवेन्द्रकिशोर ढुंगाना 

बिर्तामोड । सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिका वडा नम्बर ७ का २२ वर्षिय गुणराज यादवको बिभत्स हत्या गरी बोरामा बाँधेर फालिएको घटनामा उनकै साथीहरू संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यादवको शव शनिवार विहान भोक्राहा-नरसिंह गाउँपालिका-५ र इनरुवा नगरपालिका-९ को सीमा नदीको रुपमा रहेको सुनसरी खोलामा बोरामा बाधिएको अवस्थामा फेला परेको थियो ।

मृतक यादवलाई उनकै साथीहरूले बिहीबार राती हत्या गरी बोरामा हात–खुट्टा बाँधेर सुनसरी खोलामा फालेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी स्रोतको भनाइ छ ।

आफ्नै गाउँमा सञ्चालन गरिरहेको मोबाइल मर्मत पसल बन्द गरेर बिहीबार दिउँसो घर नजिककै साथीसँग साइकलमा यादव इनरुवा बजार घुम्न गएका थिए । इनरुवाबाट घर फर्किने क्रममा थप केही साथीहरूसँग भेट भएपछि यादवसहित केहीले एक घरमा खाजा खाएका थिए ।

साँझ एक जना आफन्तकोमा पुगेका उनी त्यहाँबाट पंखाको मोटर बिग्रिएको फोन आएपछि निस्किएका थिए । बाटोमा जाँदै गर्दा साथीहरुको समूह भेटेका मृतकले घटनास्थल नजिकै साथीको जन्मदिनको पार्टी भन्दै खानपिनमा बसेका थिए ।

रातको साढे आठ बजेसम्म त्यही खानपिन गरेका उनी त्यसपछि साथीहरुसँग नजिकै रहेको पटुवा घारीमा गएका थिए । त्यहि उनको हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको बताईएको छ ।

पटुवा घारीमा उनको हात खुट्टा डोरीले बाधेर ढुंगा र फलामको चुच्चो हतियारले प्रहार गरि हत्या गरिएको थियो । स्रोतका अनुसार उनको लिंगमा समेत ढुंगा जस्तो हतियारले प्रहार गरिएको देखिएको छ ।

उनको एउटा कान काटिएको छ, लिंग र आँखामा गहिरो चोट देखिन्छ । हत्यापछि यादवलाई हात खुटा बाँधेर प्लास्टिकको बोरामा हालेर राती नै सुनसरी खोलामा फालिएको अनुमान गरिएको छ ।

शुक्रबार बिहान यावदलाई खोज्ने क्रममा स्थानीय र परिवारले घरदेखि तीन सय मिटर पर रगत लतपतिएको स्थल भेटाएका थिए । लगतै प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको प्रहरी टोली त्यहाँ पुगेको थियो ।

प्रहरीले यादवसँगै इनरुवा गएका आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

स्रोतका अनुसार हत्याको पछाडि यौन सम्बन्धसमेत कारक रहेको आशंका बढेपछि प्रहरीले अनुसन्धान त्यसतर्फ केन्द्रित गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीसहित घटनाको अनुसन्धानमा प्रदेश प्रहरी कार्यालयको एक टिमसमेत संलग्न रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक कमल थापाले आफूहरु अनुसन्धानको अन्तिम निष्कर्ष नजिक पुगेको र छिटै हत्यारा पत्ता लाग्ने बताए । उनले घटनामा संलग्नताको आशंकामा अहिलेसम्म आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *