नेकपा सचिवालय बैठकले गर्यो कार्यदल अनुमोदन

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिमा गठित कार्यदललाई अनुमोदन गरेको छ ।

शुक्रबार दुई अध्यक्षको सहमतिमा पार्टीमा देखिएको विवाद समाधानका लागि भन्दै ६ सदस्सीय कार्यदल गठन भएको थियो । तर कार्यदलको औचित्यता र वैधानिकतामाथि शीर्ष नेताहरुले नै प्रश्न उठाउन थालेपछि सोमबार सचिवालय बैठक बसेर अनुमोदन गरेको हो ।

अध्यक्षद्वयले अन्य नेताहरुसँग सल्लाह नै नगरी कार्यदल गठन गरेको भन्दै पार्टीका अन्य शीर्ष नेताहरुले असन्तुष्टि जनाएका थिए ।

शनिबार वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई सचिवालय बैठक बोलाउन माग गरेका थिए । कार्यदललाई औपचारिकता दिन र त्यसको कार्यक्षेत्र किटान गर्न सचिवालयमा छलफल हुनुपर्ने उनीहरुको माग थियो ।

कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र थप छलफलका लागि बैठकमा पेस हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले कार्यदलबाट प्राप्त सुझावको आधारमा अध्यक्षद्वयले प्रस्तुत गर्ने प्रतिवदेनको प्रतिक्षा रहेको बताए ।

गत साउन ३० गते दुई अध्यक्षको सहमतिमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल र शंकर पोखरेल कार्यदल सदस्य छन् । कार्यदलले पार्टीको विवाद हल गर्ने गरी सहमतिको खाका तयार गर्ने जिम्मेवारी पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *