त्रिविका सबै काम अब घरबाटै

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै जान थालेपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द हुने भएका छन् । त्रिविले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको हो ।

यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी गरी कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि क्याम्पसलाई घरबाटै काम गर्न निर्देशन दिएकोजानकारी दिएका छन् ।

उनका अनुसार त्रिविका सबै पदाधिकारी, शिक्षक, कर्मचारी आ-आफ्नो निकाय प्रमुखसँग सम्पर्कमा रही सुरक्षितरुपमा घरबाटै कार्य गर्ने तथा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट कक्षा सञ्चालनको व्यवस्था सम्बन्धित क्याम्पस प्रमुखले मिलाउने व्यवस्था गरिएको छ ।

लकडाउन खुकुलो भएपछि त्रिविले पढाइ र परीक्षाबाहेकका सबै सेवा सञ्चालन गरेको थियो । तर पुनःउपत्यकासहित मुलुकभर कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि सवै सेवा बन्द गरेको हो ।

यस्तै त्रिविले अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह सम्भव नहुने र बढी जनसम्पर्क हुने प्रकृतिका कार्य स्थगित गर्ने र अत्यावश्यक भई कार्यालयमै उपस्थिति भई कुनै कार्य गर्नुपर्ने अवस्थामा सेवा प्रवाह र जनशक्ति व्यवस्थापन सम्बन्धित निकाय प्रमुखले समन्वय गरी सरकारद्वारा जारी गरिएको स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गरी गर्ने गराउने उल्लेख छ ।

त्रिविले पछिल्लो पटक सङ्क्रमणको स्थिति सामान्य हुँदै गइरहेको अवस्थामा परीक्षाको तयारीसमेत गरेको थियो । तर सङ्क्रमण बढेपछि हाललाई परीक्षाको तयारीसमेत स्थगित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *