उपत्यकामा कोरोना कहर : २४ घण्टामा थपिए १७२ संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर दैनिक रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा थप १७२ नयाँ संक्रमित भेटिएका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १७२ जनामा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित देखिएका हुन् ।

पछिल्ला दिनमा राजधानीमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै काठमाडौँ प्रवेश गर्ने नाकामा आवतजावत कडाइ गरिएको भएपनि प्रत्येक दिन संक्रमितको संख्या बढिरहेको छ ।

संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उपत्यकाका तिनै जिल्लाका स्थानीय सरकारले अघोषित ‘लकडाउन’ नै गरेका छन् । यातायातमा पुन: जोर/विजोर प्रणाली लागू गरिएको छ भने सरकारी कार्यालयहरुमा कर्मचारीलाई दुइ या तीन सिफ्टमा काम गराइएको छ । त्यस्तै कतिपय क्षेत्रहरु सिल गरिएको छ ।

लकडाउन खुलेसंगै उपत्यका प्रवेश गर्नेको संख्या अत्याधिक रुपमा बढेपछि संक्रमण बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *