काठमाडौँ । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिरहेका बेला पछिल्लो २४ घण्टामा थप ६४१ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा गरिएको १२ हजार २४७ पीसीआर परीक्षणमा ६४१ जनामा संक्रमण देखिएको जानकारी दिए । जसमा २१८ महिला र ४२३ पुरुष रहेका छन् ।
त्यस्तै, हालसम्म १७ हजार ३२५ जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेका छन् । पछिल्लो २४ घण्टामा थप १३४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए । डिस्चार्ज हुनेको यो संख्या कूल संक्रमितको ६५ प्रतिशत हो ।
अहिले मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार २२१ छ । मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १५ हजार २४३ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ७२४ जना छ ।
त्यसैगरी, नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ । आइतबार थप २ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।