नेकपा विवाद समाधान उन्मुख : ६ सदस्यीय कार्यदल गठन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र जारी विवाद समाधान उन्मुख दिशामा अघि बढेको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्रको विवाद हल गर्न कार्यदल गठन गर्ने र त्यसैका आधारमा विवाद टुंग्याउने सहमति भएको हो ।

दुई अध्यक्षबीच आज भएको भेटवार्तापछि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलमा महासचिव पौडेलसहित शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् ।

कार्यदललाई पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउने गरी सहमतिको मस्यौदा बनाउने जिम्मेवारी दिइएको छ ।

९ दिन लामो संवादहीनता तोड्दै बिहीबार अध्यक्षद्वयबीच भएको भेटवार्ता सकारात्मक भएको बताइएको थियो । स्रोतका अनुसार बिहीबारको भेटवार्तामै कार्यदल गठन गर्न दुवै अध्यक्ष सहमत भएको र सोहीअनुसार शुक्रबारको छलफलले अन्तिम रुप दिएको हो ।

कार्यदलले पार्टीको विवाद हल गर्ने गरी सहमतिको खाका तयार गर्ने जिम्मेवारी पाएको कार्यदल सदस्य पम्फा भुसालले बताइन् । उनका अनुसार कार्यदलले पार्टीमा देखिएको समस्या समाधानका लागि गृहकार्य गरी सुझाव प्रस्तुत गर्नेछ ।

‘भर्खर कार्यदल गठनको सहमति भएको छ, अहिले ठ्याक्कै यही हो भनेर सबै कुरा भन्न त सकिंदैन, तर पार्टी एकतालाई थप बलियो बनाउने र अहिले देखिएको समस्या समाधान गर्ने दिशामा नै अघि बढ्ने हो’, भुसालले भनिन्, ‘कार्यदलले पार्टीमा भएको विवाद र बहसमा केन्द्रीत रहेर समाधानको सुझाव प्रस्तावका रुपमा अध्यक्षद्वयलाई बुझाउछ । त्यसपछि सचिवालयमा छलफल भएपछि स्थायी कमिटीमा आउछ र सहमतिका आधारमै सबै विवाद टुंगो लाग्छ ।’

यसका साथै सरकारका काम कारवाही, नेताहरुको कार्य विभाजन र आगामी महाधिवेशनबारे पनि कार्यदलले छलफल गरेर सुझाव प्रस्तुत गर्ने छ । ‘पार्टीमा देखिएको विवाद र बहस भन्ने बितिक्कै स्वभाविक रुपमा सरकारको कामको समीक्षा र कार्यविभाजनको प्रश्न पनि आउछ, कार्यदलले ति सबै विषयमा छलफल गरेर सहमतिका साथ् सुझाव प्रस्तुत गर्छ’, भुसालले भनिन् ।

केन्द्रीय कमिटीले तोकेको मितिमा सहमतिका आधारमा महाधिवेशन गर्ने प्रस्तावबारे पनि कार्यदलमा छलफल हुने उनको भनाइ छ ।

बुधबार एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टीको विवाद हल हुने दाबी गरेसंगै नेकपा विवाद समाधान उन्मुख रहेको अनुमान गरिएको थियो । ओलीले पाँच दिनभित्र नेकपामा देखिएको विवाद समाधान हुने बताएको दोश्रो दिन नै कार्यदल गठन हुनुले नेकपा विवाद समाधान उन्मुख रहेको अपेक्षा गरिएको छ ।

नेकपामा असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका अधिकांश सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि विवाद चर्किएको हो । कुनैपनि हालतमा पद नछोड्ने ओलीको अडान र जसरी पनि राजीनामा गराउने प्रचण्डको दबाबका बीच दुवै नेताको पटक-पटकको छलफल निरर्थक बनिरहेको छ ।

कार्यदल गठनसंगै नेकपामा लामो समयदेखि जारी विवाद समाधानको दिशामा अघि बढेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *