नेकपा विवाद : रुपान्तरण सहितको एकता आजको आवश्यकता

Last Updated Date:

  •      इन्द्र गौतम ‘जगतजंग’

“मानव समाजको इतिहास वर्ग संघर्षको इतिहास हो ।” माक्र्सको भनाइ अनुसार मूलतः वर्गीय समाजको रुपान्तरण वर्ग संघर्षबाट नै हुन्छ । नेपाली समाजको वर्ग संघर्ष कहिले जनआन्दोलनको रूपमा, कहिले किसान र जातीय विद्रोहको रूपमा, कहिले शसस्त्र संघर्ष र जनयुद्धको रूपमा, कहिले जनयुद्ध र जनआन्दोलनको समायोजनको रूपमा, कहिले वार्ता र शान्ति प्रक्रियाको रूपमा, कहिले चुनावको रूपमा, कहिले विभिन्न सामाजिक अभियानको रूपमा अभिव्यक्त भएको छ ।

“विज्ञानसम्म पुग्न बनिबनाउ राजमार्ग हुदैन ।” भन्ने माक्र्सको मान्यता अनुसार नेपाली वर्ग संघर्षले आफ्नो बाटो आफै निर्माण गरी आजसम्म आइपुग्दा सामन्तवादको अन्त्य भई हाम्रो बाटो समाजवादमा पुगेको छ । तर हामीसँग समाजवादी आन्दोलनको बनिबनाउ राजमार्ग छैन । हामीले आजको समाजवादी आन्दोलनको बाटो पहिल्याउन पार्टी एकता गर्यौं  । कम्युनिष्ट आन्दोलनलाई कायम राख्न र नयाँ गति दिन भएको पार्टी एकता नेपाली कम्युनिष्ट आन्दोलनको एउटा महान् परिघटना थियो । यो कदमले बाहिरी नवउदारवादी रणनितीलाई परास्त गर्दै नेपाली श्रमजीवी जनताको समाजवादी आन्दोलनलाई नयाँ ढंगले पुनर्संगठित गर्यो । यसले निकै ठूलो आशा, भरोसा, उत्साह र विश्वास दिलाएको छ । जसले समृद्ध नेपाल निर्माण गर्ने आधारहरु खडा गरेको छ । तर पार्टी एकता संक्रमणकालीन अवस्थामा गुज्रिरहेको छ ।

दुनियाँको राजनैतिक पानी ढलो नवउदारवादी रणनितीअन्तर्गत दलाल पूँजीवादमा अभिव्यक्त भएको छ । जसले विश्वव्यापी प्रभाव पारेको छ । नेपाली समाजमा त्यसको प्रभाव, विश्व शक्ती केन्द्रहरुको प्रभाव र चलखेल, प्रतिक्रियावादीहरुको अवस्था आदिको प्रतिबिम्ब र प्रभाव नेकपामा परिरहेको छ । पदमा पुगेका जिम्मेवार नेताहरुमा व्यक्तिवाद हावी हुनु, बैठकमा उपस्थित नहुनु, सामूहिक निर्णयबाट भाग्नु, पार्टी र सरकार संचालनमा नीति, विधि, पद्धति, प्रक्रियाको पालना नगर्नु, राजनितिक नियुक्तिहरु एकतर्फी र पारदर्शी नहुनु, विचारको प्रश्नमा छल, छाम, षडयन्त्रमा लाग्नु र लगाउनु, राष्ट्रियताका सवालमा रुपमा क्रान्तिकारी तर सारमा आत्मसमर्पणवादी हुनु यसैका प्रतिबिम्ब हुन् ।

आज एमसीसीको बहस साँचो अर्थमा राष्ट्रियताको बहस हो । आईपीएस/एमसीसी नयाँ प्रकारको उपनिवेशवाद, लुट र युद्ध हो । एमसीसी जसरी पनि पास गर्न खोज्नु, जनतन्त्र र जनजिविकाको सवालहरुमा परिवर्तन नआउनु, आन्दोलन समाजवादी होइन दलाल पूँजीवादी बन्दै जानु, कम्युनिष्ट मुल्य, मान्यता, संस्कार र संस्कृतिमा स्खलन हुनु, कम्युनिष्ट राजनितीलाई मानव मुक्ति र सेवाको रुपमा भन्दा कमाउ धन्दाको रूपमा प्रयोग गर्नु, पद र प्रतिष्ठामा लुछाचुडी गर्नु, नेता र कार्यकर्ताको विरुद्ध एक अर्कालाई उचालेर निषेध र अस्वस्थ ढंगले अगाडि बढाउन खोज्नु, खुल्ला र स्पष्ट नभई बाहिर एउटा कुरा गर्ने र भित्र अर्को कुरा गर्ने गलत परम्परा आदि आदि अहिलेको हाम्रो पार्टीभित्रको मूल समस्या हो ।

नेकपाभित्रको यो विवादले देश नै तरङ्गित बनाएको छ । विदेशी शक्ति केन्द्रहरु र स्वदेशी प्रतिक्रियावादीहरु नेकपाभित्रको विवादलाई थप चर्काएर पार्टी फुटाउने षडयन्त्रमा छन् । यी सबै षडयन्त्र, विवाद र समस्याहरुको क्रान्तिकारी ढंगले उत्तर खोज्ने क्रममा नै पार्टीभित्र अन्तरसंघर्ष चुलिएको छ । यसको सामना गर्ने सवालमा ठूलो संकट देखा परेको छ । यो संकटलाई क्रान्तिकारी संकट कै रुपमा ग्रहण गर्न सक्नु पर्दछ । सचेत ढंगले पार्टी अन्तरसंघर्षलाई स्वच्छ र वैज्ञानिक बनाउँदै राम्रो भन्दा राम्रो परिस्थितिमा बदल्न सक्नु पर्दछ ।
हाम्रो चेतना समाजवादी हुनु भन्दा पूँजीवादभन्दा पनि तल सामन्तवादी अवस्थाको छ । अन्तर्राष्ट्रिय रुपमा दलाल पूँजीवाद हावी छ । यसरी हेर्दा सामन्ती, दलाल पूँजीवादी चेतना र व्यवहारले हामीलाई गाँजेको छ । वैचारिक धरातल समाजवादी भनिए तापनि हाम्रो व्यवहार सामन्ती, दलाल पूँजीवादी बन्न गएको छ । यसकै प्रतिबिम्बको रूपमा पार्टीभित्र अन्तरसंघर्ष देखा परेको छ । रूपमा हेर्दा पद, विधि, प्रतिष्ठा तथा कार्यविभाजन जस्तो देखिए पनि सारमा गलत विचार र सही विचार बीचको संघर्ष नै हो ।

गलत र सही विचारको संघर्षद्वारा आफ्नो वर्गीय धरातलको आधारमा मान्छेले आफ्नो वैचारिक आधार तयार गर्दछ । मान्छे स्वयं विपरीतहरूको एकता हो । समाज र पार्टी पनि विपरीतहरूको एकता नै हो । निश्चित उद्देश्य र सही विचारको लागि एकता–संघर्ष–रुपान्तरण व्यक्ति, समाज र पार्टीमा निरन्तर चल्ने प्रक्रिया हो । त्यही आधारमा विभिन्न प्रश्नहरुको वैज्ञानिक र वस्तुवादी ढंगले हल गर्नै पर्दछ ।

विचारको प्रश्न : माक्र्सवाद–लेनिनवाद हाम्रो वैचारिक आधार हो । हामीले प्रयोग गर्दै आएको सामाजिक व्यवहारहरुले पैदा गरेको सैद्धान्तिक आधारहरु, विज्ञान र प्रविधिमा भएको विकासको गति, देशको भूराजनैतिक अवस्था र आजको युग अनुसार माक्र्सवादी चेतलाई थप विकास गरी समाजवादी सैद्धान्तिक आधारलाई महाधिवेशनद्वारा सुदृढ गर्नु पर्दछ । त्यही विचारको आधारमा पार्टी एकतालाई मजवुद वनाउन पर्दछ ।

राष्ट्रियताको प्रश्न : आजको युग साम्राज्यवादी युग नै हो । यो एक ध्रुवीय अवस्थावाट बहुध्रुवीय बन्दै छ । हाम्रो जस्तो तेस्रो विश्वको लागि साम्राज्यवादी हस्तक्षेप नै राष्ट्रियता माथिको हस्तक्षेप हो । हाम्रो आन्दोलनको एउटा महत्वपूर्ण पक्ष साम्राज्यवादी तथा विदेशी हस्तक्षेपलाई कमजोर र परास्थ गरी स्वधिनता कायम गर्ने नै हो । राष्ट्रियताको परिभाषालाई व्यापक बनाउँदै अरु देशसँग पञ्चशीलको नीति अपनाउँदै हिजो भएका असमान सन्धि सम्झौताहरु निष्कृय बनाई खारेज गर्ने, थप सन्धि सम्झौता गर्दा देशको हितमा सचेत रहनै पर्दछ । आज एमसीसी संशोधन नगरी यथास्थितिमा पास गर्नै हुँदैन किन कि हिन्द प्रशान्त रणनीतिको व्यवहारिक रूप नै एमसीसी हो । यो अमेरिकाको नयाँ ढङ्गको उपनिवेशवादी कदम हो । त्यसैले यो विषय जटिल र गम्भीर सैद्धान्तिक विषय हो । त्यसका विरुद्धमा कम्युनिष्ट मात्र होइन देशभक्त, प्रगतिशील पार्टीहरु र जनसमुदायलाई एकतावद्ध गर्न सक्नु पर्दछ ।

पार्टी सञ्चालनको प्रश्न : पार्टीलाई विधि, विधान र पद्धतिमा चलाउदै व्यक्ति होइन नीति प्रधान बनाउनु पर्दछ । सवै विषयहरूमा उच्च जनवादी छलफलको आधारमा सामुहिक निर्णय गरी कार्यान्वयमा केन्द्रीयता लागू गर्ने विधिलाई केन्द्रदेखि तल्लो कमिटी र पार्टी सदस्यसम्म पुर्याउनु पर्दछ । पार्टीलाई जनतामा फर्काउने तत्कालीन सांगठनिक विधि र संगठनले समाजको नेतृत्व गर्दै समाजलाई रुपान्तरण गरी समाजलाई प्रमुख र निर्णायक बनाउँदै राज्यको क्रमश: विलोप गर्ने दीर्घकालिन सांगठनिक विधिको विकास गर्नु पर्दछ ।

सरकार सञ्चालनको प्रश्न : पार्टीको निर्देशनमा सबै तहको सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण गरी पार्टीले तयार गरेको घोषणापत्रको आधारमा सरकारलाई वास्तविक लोकप्रिय वनाउन सचेत प्रयत्नद्वारा सर्वहारा वर्ग, गरिब जनता, जनजाति, दलित, मधेशी, महिलापक्षीय सरकारको रूपमा स्थापित गर्न सक्नु पर्दछ ।

यी समस्या र प्रश्नहरूको जवाफ तत्कालीन रूपमा पार्टीको सचिवालय, स्थायी समिति, केन्द्रीय समितिको वैठकबाट व्यापक छलफल, बहस, वाद, विवाद, आलोचना, आत्मआलोचनाको विधिबाट खोज्नु पर्दछ । यसबाट पनि हल नभएमा एकता महाधिवेशनबाट खोज्नु पर्दछ । नेतृत्व भनेको मूलतः विचार नै हो । नेतृत्वहरूको संघर्ष मूलतः विचारकै संघर्ष हो । त्यसैले पार्टीभित्रको आजको समस्यालाई वैज्ञानिक, वस्तुवादी, व्यवहारिक बनाई विचार र पार्टी रुपान्तरणलाई केन्द्रमा राख्नु पर्दछ ।

दुनियाँ बदल्नु छ भने दुवै अध्यक्षहरु जिम्मेवार र जवाफदेही हुनै पर्दछ । एउटा हातले मात्र ताली नबज्ने भएकाले दुवै अध्यक्षहरुले दुरदर्शिता र लचकता अपनाउन आवश्यक छ । उहाँहरु दुवैको तफबवाट आवश्यक अनुसारको त्याग गरी रुपान्तरण सहितको पार्टी एकतालाई सुदृढ बनाउन प्रतिबद्ध हुनै पर्दछ । विचारमा एकरुपता कायम गर्दै साम्राज्यवादी तथा बाहिरी हस्तक्षेप र देशभित्रको प्रतिक्रीयावादी हर्कतलाई कमजोर बनाई पार्टी एकतालाई नयाँ आधारमा नयाँ एकता कायम गरी सुदृढ बनाउनु नै आजको महत्वपूर्ण आवश्यकता हो ।

(लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश सचिवालय सदस्य हुन् ।)

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top