ओली र प्रचण्डबीच चार घण्टा छलफल : संवादहीनता तोडियो, सहमति जुटेन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । ९ दिन लामो संवादहीनता तोड्दै बिहीबार उनीहरुबीच चार घण्टा छलफल भएको हो ।

दुई अध्यक्षबीचको छलफलमा ठोस सहमति नजुटे पनि कुराकानी सकारात्मक भएको बताइएको छ । बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छलफलमा पार्टीभित्र देखिएका समस्या समाधानलगायतका विषयमा कुराकानी भएको बुझिएको छ । भेटघाट सकारात्मक भएको र शुक्रबार पुनः बस्ने समझदारी पनि भएको छ ।

यसअघि अध्यक्ष प्रचण्डले निकास ननिस्कने बैठकमा नबस्ने बताएका थिए । प्रचण्डले निकास नआउने छलफलमा बस्नुको औचित्य नहुने भन्दै निकास निस्कनेगरि छलफल गर्न वालुवाटारलाई सन्देश पठाएपछि छलफल टुटेको थियो । त्यसपछि दोस्रो तहका नेता सक्रिय भएका थिए । महासचिव विष्णु पौडेलसहित स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्मा दुई अध्यक्षबीच संवाद र सहमति जुटाउने प्रयासमा लागेका थिए ।

साउन १३ गतेका लागि तय भएको स्थायी कमिटीको बैठक प्रधानमन्त्री ओलीले एकतर्फीरुपमा स्थगित गरेपछि दुई अध्यक्षबीचको सम्बन्ध चिसिएको थियो । त्यसयता साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएपनि निकास निस्केको थिएन ।

बुधबार एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टीको विवाद हल हुने दाबी गरेसंगै नेकपा विवाद समाधान उन्मुख रहेको अनुमान गरिएको छ । ओलीले पाँच दिनभित्र नेकपामा देखिएको विवाद समाधान हुने बताएको भोलिपल्टै भएको दुई अध्यक्षबीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ ।

नेकपामा असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका अधिकांश सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि विवाद चर्किएको हो । कुनैपनि हालतमा पद नछोड्ने ओलीको अडान र जसरी पनि राजीनामा गराउने प्रचण्डको दबाबका बीच दुवै नेताको पटक-पटकको छलफल निरर्थक बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *