फिफा विश्वकप र एसियन कपका छनोट खेलहरु फेरी स्थगित

Last Updated Date:

काठमाडौँ । कतारमा हुने फिफा विश्वकप छनोट र एएफसी एसियन कपका छनोट खेलहरु स्थगित भएका छन् । कोरोना भाइरसको संक्रमणका कारण छनोट चरणका खेलहरु सन् २०२१ सम्मका लागि स्थगित भएका हुन् ।

कोरोना कहर अझै नसकिएको तथा एसियाली देशमा पछिल्लो समय कोरोना संक्रमण बढिरहेकाले सन् २०२१ सम्मका लागि छनोट खेल स्थगित गरिएको एसियन फुटबल कन्फेडेरेक्सन (एएफसी) ले जनाएको छ ।

मार्च/जुनमा हुनुपर्ने खेलहरू कोरोना भाइरसका कारण यसअघि पनि स्थगित गरिएको थियो । कोरोना महामारीको स्थिति हेरेर नयाँ मिति तय गरिने एएफसीले जनाएको छ ।

यो निर्णयसँगै नेपालले कम्तीमा पनि २०२१ सम्म कुनै अन्तर्राष्ट्रिय खेल नखेल्ने पक्का भएको छ ।

विश्वकप २०२२ तथा एसियाकप २०२३ को संयुक्त छनोटको समूह ‘बी’ मा रहेको नेपालले घरेलु मैदान दशरथ रंगशालामा तीन खेल खेल्न बाँकी छ । नेपालले अब अस्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग खेल्न बाँकी छ ।

यसअघि नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेइ, अक्टोबर १३ मा अस्ट्रेलिया तथा नोभेम्बर १२ मा जोर्डनसँग खेल्ने तय भएको थियो ।

पाँच राष्ट्र सम्मिलित समूहको शीर्ष स्थानमा रहने टोलीले एसियन कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेस्रो चरणमा सहभागी हुन पाउनेछन् । दोस्रो हुने उत्कृष्ट चार टोली पनि विश्वकपको तेस्रो चरणका साथै एसियन कपका लागि छनोट हुनेछन् ।

तेस्रो स्थानसम्मका टोली एसियाली कपको छनोटको तेस्रो चरणमा छनोट हुनेछन् । समूहको उत्कृष्ट ४ चौथो हुने टोली एसियाली कप छनोटको तेस्रो चरणमा पुग्दा बाँकी टोलीले सो छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ ।

हालसम्म ५ खेल खेलेको नेपाल ४ हार तथा एक जित निकाल्दै ३ अंकको साथमा समूहको चौथो स्थानमा छ । अस्ट्रेलिया, जोर्डन तथा कुवेतसँग हार बेहोरेको नेपालले चाइनिज ताइपेइलाई पराजित गरेको थियो ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top