कोभिड-१९को पहिलो खोपको नाम ‘स्पुत्निक भी’

विश्वलाई आफ्नो लपेटामा लिएको कोभिड-१९ महामारी विरुद्दको पहिलो खोपको नाम ‘स्पुत्निक भी’ राखिएको छ । रुसले प्रयोगमा ल्याएको यो खोप अहिले विश्वभर चर्चामा छ ।

यो अन्तिरिक्ष दौडको प्रतिस्पर्धा नभएता पनि ‘स्पुत्निक’ नामले एकपटक फेरी चर्चा बटुल्न सफल भएको रुसी संचारमाध्सयमहरुले उल्लेख गरेका छन् ।

सन् १९५७ मा अन्तरिक्षको खोज गर्न तत्कालीन सोभियत संघले संसारमै पहिलोपटक सफलतापूर्वक स्पेस स्याटेलाइट प्रक्षेपण गरेको थियो । तसर्थ कोभिड महामारीको भ्याक्सिनको नाम पनि त्यस्तै सफलता भएकोले यसलाई ‘स्पुत्निक भी’ नाम दिइएको रुसको सरकारी वेबसाइटमा उल्लेख  गरिएको छ ।

मंगलबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजनबाट देशले कोरोना भाइरसबिरुद्धको खोप रजिष्टर गरेको घोषणा गरेका थिए । यो खोप सर्बसाधारणहरुका लागि आगामी जनवरीबाट उपलव्ध हुनेछ । त्यसभन्दा पहिला प्राथमिकताअनुसार स्वास्थ्यकर्मी र शिक्षकलाई उपलब्ध गराइने बताइएको छ ।

सन् १९५७ मा ‘स्पुत्निक क्षण’ भन्ने वाक्यांशले धेरैको ध्यान खिचेको बताइन्छ थियो । त्यतिबेलादेखि नै अन्य देशहरुले पनि अन्तरिक्ष बिज्ञानमा चासो देखाउन शुरु गरेका थिए ।

स्पुत्निकको सफल परिक्षण हुँदासम्म अमेरिका यस क्षेत्रमा एकदम अनाडी नै सावित भएको थियो । स्पुत्निकको सफल प्रक्षेपणपश्चात यसले ‘शीतयुद्ध’को आगोमा अझ घ्यु थप्ने काम गरेको थियो । अहिले ६३ वर्षपछि फेरी स्पुत्निक भीले अर्को विश्व विजयको आभाष रुसलाई दिएको छ ।

रुसी सरकारी वेबसाइटमा सो भ्याक्सिनले कसरी काम गर्छ भन्नेवारे सम्पूर्ण सूचना र विस्तृत विवरण उपलब्ध गराइएको छ । साथै अन्तर्राष्ट्रिय मिडियाहरुले स्पुत्निक भीको बारेमा फैलाएका भ्रम र अफवाहहरुको पनि खण्डन गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अहिलेसम्म स्पुत्निक भीलाई स्वीकृति भने दिइसकेको छैन । तर डब्लुएचओ रुसी स्वास्थ्य अधिकारीहरुसंग नजिकको सम्पर्कमा रहिरहेको समाचारमा उल्लेख छ  । डब्लुएचओका प्रवक्ता तारिक जसरेबिकको भनाइ अनुसार कुनै पनि भ्याक्सिनको प्रिक्वालिफिकेसन टेस्ट ब्यापक मात्रामा भएको हुनुपर्ने र परिणाम पनि उल्लेख्य प्रतिशतमा सकारात्मक हुनु पर्नेछ । साथै सुरक्षा र प्रभावकारिताको तथ्यांक प्रष्ट हुनुपर्ने सर्तसमेत छ । स्पुत्निक भीको सन्दर्भमा यस्तो प्रक्रिया विश्व स्वास्थ्य संगठनले अझै सुपरिवेक्षण गर्न बाँकी रहेको छ ।

राष्ट्रपति पुटिनले यो भ्याक्सिन निर्माणमा जुटेको टिमलाई धन्यबाद दिदै सम्पूर्ण विश्वको लागि अत्यन्त महत्वपूर्ण क्षण भएको बताएका थिए ।

यस भ्याक्सिनको विकासमा स्वयंसेवाले काम गरेको र कसैमाथि पनि बलजफ्ती परीक्षण नगरिएको उनको भनाइ छ । यहाँसम्म कि उनले आफ्नी छोरीले समेत यस खोप लिएको तथ्य उजागर गरेका थिए ।

“यस भ्याक्सिनले प्रभावकारी तवरले काम गरेको छ भन्ने कुरा मलाइ थाह छ । यसले भाइरस प्रतिरोधात्मक क्षमतालाई स्थिर राख्छ र यस कामले सबै प्रकारका आवश्यक परीक्षणको अवस्था पार गरेको छ”, राष्ट्रपति पुटिनको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *