काठमाडौँ । महाधिवेशनको पूर्वसन्ध्यामा विभाग गठन गरिएको भन्दै नेपाली काँग्रेसका युवा नेताहरुले असन्तुष्टि जनाएका छन् ।
पार्टीका एक दर्जन युवा केन्द्रीय सदस्यले आज संयुक्त विज्ञप्तिमार्फत महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गरिनुपर्ने विभाग गठन कार्यकाल समाप्त भइसकेपछि गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनीहरुले यस्तो निर्णय कसरी वैधानिक र उपयुक्त हुन्छ भनी प्रश्न पनि गरेका छन् ।
महाधिवेशनको मिति तोकिसकेपश्चात् विभाग गठन, विभिन्न नियुक्ति लगायतका गतिबिधि गर्नु निर्वाचन आचारसंहिता विपरित हुने उल्लेख गर्दै उनीहरुले विभाग गठनका कार्य तत्काल रोक्न र गठन गरिएका औचित्यहीन विभाग खारेज गर्न माग गरेका छन् ।
पार्टीका केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव, किरण यादवले विज्ञप्तिमार्फत पार्टी सभापतिलाई विधानको संरक्षक, पालक र कार्यान्वयनकर्ताको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
कांग्रेसमा विभाग गठनलाई लिएर चर्को विवाद छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित पार्नेगरी विधान मिचेर विभाग गठन गरेको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आरोप छ । विवाद र आलोचनाका बीच सभापति देउवाले बिभाग गठन गरि कार्यविभाजन गरेपछि कांग्रेसको विवाद चर्किएको हो ।