उपत्यकामा कोरोनाको जोखिम : मंगलबार थपिए १३४ संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर बढ्दै गएको छ । लकडाउन खोलेसंगै उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा थप १३४ नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १३४ जनामा कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार मंगलबार काठमाडौँमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन् । उपत्यकामा शनिबार ६२ र शुक्रबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १ सय नाघेको छ ।

उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै काठमाडौँ प्रवेश गर्ने नाकामा आवतजावत कडाइ गरिएको भएपनि संक्रमितको संख्या घटेको छैन । संक्रमण फैलिन थालेपछि उपत्यकाका तिनै जिल्लाका स्थानीय सरकारले अघोषित ‘लकडाउन’ गरेका छन् ।

लकडाउन खुलेसंगै उपत्यका प्रवेश गर्नेको संख्या अत्याधिक रुपमा बढेपछि संक्रमणको जोखिम बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *