कोरोना संक्रमण बढेपछि काठमाडौँको ‘कोटाल टोल’ सिल

काठमाडौँ । कोरोना सङ्क्रमण बढेपछि काठमाडौँ महानगरपालिका–५ स्थित कोटाल क्षेत्रलाई सिल गरिएको छ । प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि शनिबार टोललाई नै सिल गरिएको हो ।

प्रहरी टोली तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ । केही दिनअघिको परीक्षणमा यहाँ प्रहरीसहित एकै परिवारका पाँच जनामा कोभिड–१९ देखिएको थियो । त्यसपछि परीक्षण गर्दा घरभेटीलाई कोरोना पोजेटिभ देखियो । समुदायका २५ जनाको परीक्षणमा अन्य थप छ जनालाई समेत कोभिड–१९ पुष्टि भएपछि टोललाई सिल गर्नु परेको वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए ।

डङ्गोलले आफ्नो नेतृत्वमा रहको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकबाट थप आवश्यक निर्णय गरिने बताए । सोही टोलमा बस्ने केही व्यक्ति काठमाडौँको कपनमा पुगेको र उनीहरुको परीक्षणमा समेत कोभिड–१९ देखिएको उनले जानकारी दिए ।

पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण लगातार बढिरहेको छ । शुक्रबार मात्रै उपत्यकामा १०० भन्दा बढीमा सङक्रमण देखिएको थियो । सङ्क्रमण बढेपछि अहिले उपत्यका प्रवेशमा कडाइ गरिएको छ भने सङ्क्रमित क्षेत्रमा विशेष निगरानी गरिएको छ ।

उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । काठमाडौँ उपत्यकामा अहिलेसम्म झण्डै एक हजार व्यक्तिमा कोरोना देखिइसकेको छ । सय भन्दाबढी स्थानमा कोभिड–१९ देखिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *