उत्तर कोरियाले अतिसुक्ष्म परमाणु हतियार बनाएको युएनको दावी

Last Updated Date:

प्योङयङले आफ्नो शस्त्र भण्डारमा ब्यालेष्टिक मिसाइलमा फिट हुनसक्ने अतिसुक्ष्म परमाणु हतियार जम्मा गरेको हुनसक्ने आशंका गरिएको एउटा समाचार बाहिरिएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेश गरिएको रिपोर्टलाई उद्धृत गर्दै उक्त समाचारमा आफ्नो हतियार प्रोग्राममा यस्ता ‘मिनिएचराइज्ड नुक्स’ को अरु विकासका लागि उत्तर कोरिया जुटेको बताइएको छ ।

‘अत्यन्त गोप्य र विश्वासनीय’ भनि वर्गीकृत उक्त रिपोर्ट ब्रिटिश समाचार एजेन्सी रायटरले गत सोमबार प्राप्त गरेको थियो । रायटरले थुप्रै अज्ञात देशहरुले प्योङयङसमक्ष यस्तो प्रबिधिको जानाकारी प्राप्त गर्न पहुँच बिस्तार गरेको समेत जनाएको छ ।

युएनको सो रिपोर्टमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले आफ्नो परमाणु कार्यक्रम जारी राखेको जनाइएको छ ।यस्तो कार्यक्रम अन्तर्गत युरेनियम प्रशोधन र ‘लाइट वाटर रियाक्टर’ को संचालन पनि संगै भएको बताइन्छ । अति गोप्य भनिएको उक्त रिपोर्टमा उत्तर कोरियाले परमाणु हतियारको उत्पादन सुचारु राखेको भन्ने अर्को सदस्य राष्ट्रको भनाइलाई थप तथ्यका रुपमा उल्लेख गरिएको छ ।

उत्तरी कोरियाले यस्ता अतिसुक्ष्म तरिकाले न्युक्लियर हतियार निर्माण गरेको यो पहिलो पटक नभएको समेत रिपोर्टमा उल्लेख छ । सन् २०१७ मा अमेरिकी गुप्तचर संस्थाले चुहाएको यस्तै एक रिपोर्टमा पनि उत्तर कोरियाले अमेरिकी मुख्य भूमिसम्म प्रहार गर्नसक्ने क्षमताको यस्तै अतिसुक्ष्म प्रकृतिको परमाणु हतियारको विकास गरेको जनाइएको थियो ।

(एजेन्सीहरुको सहयोगमा)

 

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top