अमेरिकाले टिकटक चोर्न लागेको चीनको आरोप, प्रतिकार गर्ने चेतावनी

चिनियाँ सञ्चारमाध्यमहरुले अमेरिकालाई ‘ठग राष्ट्र’ को संज्ञा दिएका छन् । चिनियाँ भिडियो साझेदारी एप टिकटकको माइक्रोसफ्टलाई सम्भावित बिक्रीलाई उनीहरुले ‘चोरी’ भनेर सम्बोधनगरेका हुन् ।

माइक्रोसफ्टले आइतबार टिकटकको केही बजारहरु अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्ड को व्यवसाय अधिग्रहण गर्न सक्ने घोषणा गरेको थियो । लगत्तै चिनियाँ सञ्चारमाध्यमहरुले त्यस्तो सम्झौता भए बेइजिङ्गले त्यसको बदला लिने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एपको केही अंश मात्र खरीद गर्नु जटिल हुने भन्दै माइक्रोसफ्टका सीईओ सत्य नाडेलालाई अगाडि बढ्न भनेका छन् ।

राज्य समर्थित ग्लोबल टाइम्सका प्रवक्ता तथा सम्पादक हू जिजिनले यस कदमलाई “खुला डकैती” भनेका छन् । उनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले एक समयको महान अमेरिकालाई बदमाश मुलुकमा परिणत गरिरहेका छन् ।’

टिकटक अहिले वाशिंगटनको तारो बनेको छ । अमेरिकाले टिकटकमाथि आफ्ना नागरिकको डाटा संकलन गर्ने र चिनियाँ सरकारलाई पठाउने आरोप लगाएको छ । टिकटकले भने यस्तो आरोप निराधार भएको भन्दै बारम्बार अस्वीकार गर्दै आएको छ ।

ट्रम्प प्रशासनले यसअघि टिकटकमाथि प्रतिबन्ध लगाउने धम्की दिएको थियो । आइतबार माइक्रोसफ्टले टिकटक प्राप्त गर्ने आफ्नो योजना घोषणा गर्नुअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले एक अन्तर्वार्तामा एपलाइ कारबाही गर्न सक्ने बताएका थिए ।

अर्को राज्य समर्थित प्रकाशन चाइना डेलीले पनि सम्भावित अमेरिकी खरीदकर्ताहरूलाई चिनियाँ प्रविधिको ‘आधिकारिक रूपमा चोरी’ भनेको छ । आइतबार प्रकाशित एक सामाग्रीमा चीनले यसको बदला लिन सक्ने बताइएको छ । ‘चीनले कुनै पनि हिसाबले चिनियाँ टेक्नोलोजी कम्पनीको “चोरी” स्वीकार्ने छैन र योजनाबद्धरुपमा कब्जा गरेमा यसको प्रतिकार गर्ने तरिकाहरू धेरै प्रकारका हुनेछन्’, उक्त सामाग्रीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *